उत्कृष्ट शिक्षक तथा बिद्यार्थीलाई सम्मान गर्दै ताप्लेजुङ बुद्ध इङलिस बोर्डिङ स्कुलको १९ औं स्थापना दिवस सम्पन्न
उज्यालो पोष्ट
ताप्लेजुङ,जेठ १५ । उत्कृष्ट शिक्षक तथा बिद्यार्थीलाई सम्मान तथा पुरस्कृत र अभिभावक भेला समेत आयोजना गर्दै ताप्लेजुङको फुङलिङस्थित ताप्लेजुङ बुद्ध इङलिस बोर्डिङ स्कुलले १९ औं स्थापना दिवस मनाएको छ ।
फुङलिङ नगरपालिकाका प्रमुख तथा नगर शिक्षा समितिका अध्यक्ष अमिर मादेनको प्रमुख आतिथ्यतामा सम्पन्न स्थापना दिवसका अवसरमा कक्षागत रुपमा प्रथम,द्धितीय तथा तृतीय हुने बिद्यार्थीलाई पुरस्कृत गरिएको छ भने बिद्यालयका कर्तव्यनिष्ठ,इमान्दार र बिद्यार्थीमैत्री शिक्षण सिकाईमा सक्रिय एक शिक्षिकालाई सम्मान गरिएको बिद्यालयका संस्थापक प्रिन्सिपल इन्द्रकुमार गुरुङले जानकारी दिनुभयो । अभिभावकको ब्यापक उपस्थिति रहेको उक्त कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख मादेनले ताप्लेजुङ बुद्ध इङलिस बोर्डिङ स्कुल ताप्लेजुङको शैक्षिक इतिहाँसमा आधारभूत तहको शिक्षा प्रदान गर्ने अब्बल र उत्कृष्ट बिद्यालय भएको दावी गर्नुभयो । बिद्यालयको शैक्षिक गुणस्तर आसलाग्दो देखिएको भन्दै आधारभूत तहमा ताप्लेजुङ बुद्ध इङलिस बोर्डिङ स्कुलले दिएको योगदान महत्वपूर्ण र अविस्मरणीय रहेको बताउनुभयो । फुङलिङ नगरपालिका वडा नं ६ का वडाध्यक्ष मदन गुरुङ(तेज)ले बिद्यार्थीमा आधारभूत तहबाटै शैक्षिक गुणस्तर र सकारात्मक नतिजा ल्याउनेगरी सिकाई सुधार हुनुपर्नेमा जोड दिदैं त्यसका लागि ताप्लेजुङ बुद्ध बोर्डिङ स्कुको योगदान महत्वपूर्ण रहेकोमा जोड दिनुभयो ।
जिल्ला प्याब्सनका अध्यक्ष देवराज गुरुङले ताप्लेजुङको शैक्षिक अवस्थालाई सन्तुलित र व्यवस्थित गर्न जिल्लाका संस्थागत बिद्यालयको भूमिका अहम् रहेको बताउनुभयो । बिद्यालयका अभिभावकद्धय सचिन रेग्मी र यिगिन्द्रकुमार गुरुङले आफ्ना नानीबाबु कसरी पढ्दैछन् भनेर नियमित निगारानी समेत गर्ने गरेको र अभिभावकको नाताले बिद्यालय गृह कार्य समेतमा घरमा बसेर समेत नानीबाबुहरुको गृहकार्यको प्रारम्भिक परीक्षण देखि उनीहरुको आनीबानी समेतमा ध्यान दिदैं आएको बताउनुभयो । कार्यक्रममा नगर शिक्षा समितिका सदस्य समेत रहनु भएका बालसुवोधिनी संस्कृत माविमा प्रधानाध्यापक युवराज बस्नेत,जिल्ला ब्याट मिन्टन संघका अध्यक्ष सुरेश सिंघक,पत्रकार महासंघ ताप्लेजुङका पूर्व अध्यक्ष खगेन्द्र अधिकारी,जिल्ला प्याब्सनका सचिव तरुण भारती,कोषाध्यक्ष चन्द्र मादेन,लिटलबुद्ध आवासीय माध्यमिक बिद्यालयका सहायक प्रधानाध्यापक सुरेन्द्र बस्नेत,शान्ति आधारभूत बिद्यालयका प्रधानाध्यापक खगेन्द्रप्रसाद कार्की,रेडियो तमोरका स्टेशन म्यानेर कृष्ण फुरुम्बो लिम्बू सहितको उपस्थिति रहेको थियो ।
बैदेशिक रोजगारीका लागि बेलायत पुग्नु भएका बिद्यालयका संस्थापक प्रिन्सिपल गुरुङ आफ्नै देश र ठाउँमा शिक्षा क्षेत्रमा लगानी गर्न आउनु भएका गुरुङ बेलायतबाट स्वदेश फर्केपछि सुरुमा श्रीमति कुमारी सहित एक संस्थागत बिद्यालयमा शिक्षण पेशामा आबद्ध रहनु भयो । पछि आफु संस्थापक भई ताप्लेजुङ बुद्ध इङलिस बोर्डिङ स्कुल स्थापना भएपछि आफु प्रिन्सिपल र श्रीमति कुमारी सहायक प्रिन्सिपल भएर अहिले बिद्यालय सञ्चालन गरिरहनु भएको छ । माध्यमिक तहको अध्यापन गराइरहेको लिटलबुद्ध इङलिस बोर्डिङ स्कुलसंग आधारभूत तहको अध्यापन गराइरहेका क्रमशःताप्लेजुङ बुद्ध बोर्डिङ स्कुल,तमोर इङलिस बोर्डिङ स्कुल र ताप्लेजुङ सिद्धार्थ एकेडेमीको नियमित शैक्षिक सहकार्य भइरहेको सम्वन्धित बिद्यालयले बताएका छन् ।