सार्वजनिक शिक्षा सुधारको अभियानमा फक्ताङलुङ,पढाई र सिकाईको अवस्था अनुगमनमा पालिका अध्यक्ष नै अग्रसर
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ४ । सार्वजनिक शिक्षा सुधारको योजना अघि बढाइरहेको ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले बिद्यालयको पढाई र बिद्यार्थीको सिकाई सुधारको अवस्था मापनका लागि अनुगमनलाई तीव्र बनाएको छ ।
गाउँ शिक्षा समितिका अध्यक्ष समेत रहनु भएका पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)आफैं पालिकाका प्रत्येक बिद्यालयका कक्षा कोठामा पुगी अनुगमनमा व्यस्त देखिनु भएको छ । अनुगमनका क्रममा पालिकाले बिद्यालयका प्रत्येक कक्षाकोठामा शैक्षिक सामग्री पुगे नपुगेको,शिक्षक र बिद्यार्थीको नियमित उपस्थिति भए नभएको देखि बालमैत्री कक्षा सञ्चालन र बिद्यालय सुधार योजनाको उचित कार्यान्वयनको अवस्था मापन गर्ने छ । सार्वजनिक शिक्षा सुधारलाई अनिवार्य सर्तको रुपमा लिएको पालिका शिक्षा समितिको गत भदौ २२ गते बसेको बैठकले पठनपाठनमा शिक्षक डायरीको प्रयोग,लगबुकको प्रयोग,बिद्यार्थी कार्यतालिका व्यवस्थापन,गृहकार्य चेकजाँच तथा मासिक परीक्षा अभिलेख,बिद्यार्थीको सिकाई स्तरको वर्गिकरण र शिक्षकको अध्यापन तालिका सहितका बिषयलाई पालिकाका सबै बिद्यालयमा एकसाथ कार्यान्वयनमा ल्याउने निर्णय समेत गरेको छ । फक्ताङलुङ गाउँपालिकामा ४० वटा बिद्यालय रहेका छन् ।
पालिका भरीमा रहेका बिद्यालयको अनुगमनका लागि पालिकाले पालिका क्षेत्रमा कार्यरत शैक्षिक दातृ निकायलाई पालिकाको शिक्षा शाखाका प्रतिनिधिसरह मान्यता दिई अनुगमनमा सक्रिय बनाउने निर्णय समेत लिएको छ । पालिका अध्यक्ष लिम्बूका अनुसार कक्षाकोठाको पठनपाठनमा शिक्षण सामग्रीको प्रयोग,शिक्षक डायरी,लगबुकको प्रयोग,बिद्यालयलाई गृहकार्य दिने र दिएको गृहकार्यको प्रभावकारी परीक्षण र पृष्ठपोषण दिने सहितका बिषयमा पालिका शिक्षा समितिले पालिका भरीका बिद्यालयमा प्रभावकारी अनुगमनलाई अघि बढाएको बताउनुहुन्छ । सार्वजनिक शिक्षा सुधार चुनौतिपूर्ण रहेपनि यसको असल व्यवस्थापनले पालिकाको शैक्षिक अवस्थामा उल्लेखनीय सुधार आउने देखेर अनुगमनलाई तीव्र र कडाईका साथ अघि बढाईएको समेत पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
पालिकाले बिद्यार्थीलाई घरमै समेत पढाईप्रति थप व्यस्त र लगनशिल बनाउन कक्षा शिक्षकले घर अध्ययन तालिका अनिवार्य बनाउनुपर्ने नियम समेत सुरु गरेको छ । हरेक पाठ्य बिषयको अन्त्यमा कक्षागत परीक्षा र हरेक मासिक रुपमा परीक्षा अनिवार्य गर्नुपर्ने नियम सुरु गरेको पालिकाले पाठ्य बिषयको अन्त्यमा र मासिक रुपमा लिएको परीक्षामध्ये यसअघि लिएको परीक्षा र हालसालै लिएको परीक्षाको तुलना गरी आवश्यक पृष्ठपोषण दिने कार्य अघि बढाउने छ ।‘सिकाईको अवस्था र शैक्षिक नतिजामा सुधार नगरी सार्वजनिक शिक्षामा सुधार नआउने देखेपछि शैक्षिक दातृ निकाय,बिद्यालयका प्रधानाध्यापक समेतको सुझावका आधारमा पालिकाले यस्तो नीति प्रभावकारी हिसावले कार्यान्वयनमा ल्याउन थालेको हो’पालिका अध्यक्ष लिम्बूले भन्नुभयो ।
पालिका अध्यक्ष लिम्बूले निर्णय भएर मात्र नपुग्ने र निर्णयको प्रभावकारी कार्यान्वयनले मात्र नतिजा दिने भएकोले भएका निर्णय र नीतिगत व्यवस्था कक्षाकोठामा पुगे नपुगेको अनुगमन गर्ने नीति पालिकाले अख्तियार गरेको जानकारी दिनुभयो । अनुगमनबाट देखिएका समस्या र चुनौति समाधान गर्न पालिकाले अनुगमन र पृष्ठपोषणलाई ब्यापक बनाई त्यस कार्यमा शैक्षिक दातृ निकायका प्रतिनिधिलाई समेत पालिकाको शिक्षा शाखाका प्रतिनिधि सरहको मान्यता दिई अनुगमनका खटाईएको पालिका अध्यक्ष लिम्बूको भनाई रहेको छ ।
फक्ताङलुङका ७ वटै वडा र सिरिजङ्गाका वडा नं ६,७ र ८ गरी तीनवटा वडामा कार्यक्षेत्र रहेको शैक्षिक दातृ निकाय सार्मथ्य फाउण्डेसनका कार्यक्रम प्रवन्धक राजेन्द्रप्रसाद पन्तका अनुसार फक्ताङलुङले पालिका क्षेत्रको शैक्षिक अवस्था र गतिविधिको अनुुगमनका लागि ४ वटा संस्थालाई जिम्मेवारी दिएको छ । पन्तका अनुसार वडा नं १ सावादिनमा ह्युमन प्राटिक्स फाउण्डेसन,वडा नं २ खेजेनिममा एक्सन फर नेपाल,वडा नं ३ लिङखिम,४ इखाबु र ५ तापेथोकमा सार्मथ्य फाउण्डेसन तथा वडा नं ६ लेलेपमा फेज नेपालले शैक्षिक अवस्था र गतिविधिको अनुुगमन गर्नेछन् । यसबाहेक पालिका अध्यक्षको नेतृत्वमा रहेको पालिका शिक्षा समितिले पालिकाभरीका सबै बिद्यालयमा पुगी भएका निर्णय र नीतिगत प्रवन्धको कार्यान्वयनको अवस्था र बिद्यार्थीको सिकाईमा आएको परिवर्तन बारे सुक्ष्म अनुगमन गरी पृष्ठपोषण तयार गर्ने काम गर्ने पालिकाले जनाएको छ ।