पाथीभरा याङवरकको तिरिङ्गेका रफिक भट्टराई कोशी प्रदेश स्तरीय वक्तृत्कलामा प्रथम
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज २ । ताप्लेजुङको पाथीभरा याङवरक गाउँपालिका वडा नं ३ तिरिङ्गेस्थित कुम्भकर्ण आधारभूत बिद्यालयका बिद्यार्थी रफिक भट्टराई कोशी प्रदेश स्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम हुनु भएको छ ।
रफिक केहिदिन अघि सम्पन्न जिल्ला स्तरीय प्रतियोगितामा प्रथम भई कोशी प्रदेश स्तरीय प्रतियोगिताका लागि छनौट हुनु भएको थियो । कक्षा ८ मा अध्ययनरत रफिकले कोशी प्रदेश स्तरीय प्रतियोगितामा समेत प्रथम स्थान हाँसिल गर्नु भएको बिद्यालयका प्रधानाध्यापक दिवस कार्कीले जानकारी दिनुभयो । कोशी प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले‘नेपालको संविधान र संघीयता कार्यान्वयन’शीर्षकमा कोशी प्रदेशका १४ वटै जिल्लाका प्रतिश्पर्धीबिच वक्तृत्वकला गराएको थियो । जिल्ला स्तरीय वक्तृत्वकला समेत सोहि शीर्षकमा सञ्चालन भएको थियो ।
कोशी प्रदेशको सामाजिक विकास मन्त्रालयले कक्षा ८ देखि स्नातक तहसम्म अध्ययन गर्दै गरेका बिद्यार्थीबिच सुरुमा जिल्ला स्तरीय र जिल्ला स्तरीय प्रतियोगितामा प्रथम हुनेलाई कोशी प्रदेश स्तरीय प्रतियोगितामा प्रतिश्पर्धाको अवसर दिएको थियो । शिक्षा विकास तथा समन्वय एकाई ताप्लेजुङले सञ्चालन गरेको जिल्ला स्तरीय प्रतियोगितामा रफिक प्रथम हुँदा आठराई त्रिबेणीस्थित चाँगे माविकी समिक्षा तामाङ द्धितीय र पाथीभरा याङवरक गाउँपालिकाको थुम्बेदिनस्थित सारदा माविकी प्रज्ञा नेपाल तृतीय हुनु भएको थियो ।