रसुवा बाढी: हाईड्रोमा काम गर्न गएका ताप्लेजुङका ४ जना सम्पर्कबिहिन,सम्पर्कबिहिनको विवरण संकलन गर्दै प्रशासन
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ११ । त्रिशुली र भोटेकोशी सहितका नदीहरुमा आएको बाढीका कारण त्यहाँस्थित जलविद्युत आयोजनाहरुमा काम गर्न गएका ताप्लेजुङका ४ जिल्ला वेपत्ता भएको प्रारम्भिक विवरणहरु बाहिर आएका छन् ।
आठराई त्रिबेणी गाउँपालिका वडा नं १ निघुरादिनका ३ जना र पाथीभरा याङवरक गाउँपालिकाका १ जना अहिलेसम्म सम्पर्कमा नआएको स्थानीयले जानकारी दिएका छन् । आठराई त्रिबेणी गाउँ कार्यपालिका सदस्य शान्ता गुरुङका अनुसार निघुरादिनका पासाङतेञ्जी शेर्पा,ङिमासाङ्गे शेर्पा र पासाङ शेर्पा अशिलेसम्म परिवारको सम्पर्कमा हुनुहुन्न । उहाँहरु रसुवास्थित जलविद्युत परियोजनामा काम गर्न गएको तर कुन जलविद्युत भन्ने थाह नभएको कार्यपालिका सदस्य गुरुङले जानकारी दिनुभयो । कार्यपालिका सदस्य गुरुङ निघुरादिनकै हुनुहुन्छ । यस्तै नुवाकोटस्थित त्रिशुली–३‘बी’’जलविद्युत परियोजनामा कार्यरत पाथीभरा याङवरक गाउँपालिका वडा नं २ थेचम्बुमा भीष्म चापागाँईसहित बेपत्ता हुनु भएको छ । बेपत्ता भएका भनिएकाहरु बाढीपछि परिवारको सम्पर्कमा नरहेको र अहिलेसम्म फोन समेत नलागेको स्थानीयले बताएका छन् ।
यसैबिच जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले ताप्लेजुङ जिल्लाबाट रसुवा,नुवाकोट लगायत भोटेकोशी बाढी प्रभावित जिल्लाका विभिन्न स्थान र क्षेत्रहरुमा व्यपार,रोजगारी र पर्यटकका रुपमा तथा अन्य कामको सिलसिलामा गएका व्यक्तिहरु आफन्तको सम्पर्कमा आए नभएको यकिन गर्न जिल्लाबासीहरुलाई आग्रह गरेको छ । प्रमुख जिल्ला अधिकारी उमेशकुमार दाहालले बिहीबार एक सार्वजनिक सूचना आवह्वान गर्दै बाढी प्रभावित क्षेत्रमा परेको र हालसम्म सम्पर्कमा नआएको भए नजिकैको प्रहरी कार्यालय,जिल्ला प्रहरी कार्यालय,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेडक्वाटर कञ्चनजंघा लगायत अन्य सम्वन्धित निकायमा जानकारी गराउन आग्रह गर्नु भएको छ ।
जिल्ला प्रशासन कार्यालयले प्रमुख जिल्ला अधिकारीको मोवाइल नम्बर ९८५२६३७७७७,सहायक प्रमुख जिल्ला अधिकारीको नम्बर ९८५२६६०२७०,जिल्ला प्रहरी कार्यालयको नम्बर १०० तथा जिल्ला प्रहरी प्रमुखको नम्बर ९८५२६३५५५५,सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्मका गुल्मपतिको नम्बर ९८५१२७२२०३ र जिल्ला आपतकालिन कार्य सञ्चालन क्षेत्रको नम्बर १२३४ तथा मोवाइल नम्बर ९८५२६६०३६७ मा सम्पर्क गर्न आग्रह गरेको छ ।