छैटौं मेयर कप ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
-प्रयास लिम्बू
ताप्लेजुङ, चैत २९ । ताप्लेजुङको फुङ्लिङ नगरपालिकामा सम्पन्न छैटौं मेयर कप तथा कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगितामा आन्द्रियास लिम्बू प्रथम हुनुभएको छ । इलामका दिवस शंकरलाई पराजित गर्दै आन्द्रियास प्रथम हुनुभएको हो ।
प्रदेशस्तरीय प्रतिस्पर्धामा प्रथम हुनुभएका ताप्लेजुङका आन्द्रियासले २५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाउनुभयो । त्यस्तै उपविजेता अर्थात दोस्रो हुनुभएका दिवसले २० हजार रुपियाँ नगद र ट्रफी, पदक तथा प्रमाणपत्र पाउनुभएको छ ।
प्रदेशस्तरकै प्रतिस्पर्धामा तेस्रो हुने पाँचथरका किरण श्रेष्ठ र ताप्लेजुङका मिलिङ गुरुङले पाँच हजार रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गर्नुभएको छ । यस्तै प्रदेशस्तरकै मिक्स डबलमा ताप्लेजुङका मिलिङ गुरुङ र उदयपुरकी रोजी राईको जोडी प्रथम भएको छ ।
ताप्लेजुङका आन्द्रियास लिम्बू र भोजपुरकी एन्जिला राईको जोडी दोस्रो भएको छ । मिक्स डबलतर्फ प्रथम हुनेले २० हजार रुपियाँ र दोस्रो हुनेले १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । मिक्स डबलतर्फ नै तेस्रो हुने ताप्लेजुङका मिसेकहाङ चोङ्बाङ र निङ्मा डोल्मा शेर्पाको जोडी तथा पाँचथरका शैलेस आङ्देम्बे र सलोमी आङ्देम्बेको जोडीले पाँच हजार नगदसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ ।
यसैगरी जिल्लास्तरीय पुरुष डबलतर्फ डेभिट मादेन र रमेश मादेनको जोडी प्रथम हुँदै १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । दोस्रो भएको केशव पौडेल र सुजन श्रेष्ठको जोडीले १० हजार रुपियाँ नगदका साथै ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । सन्तोष चोङ्बाङ र विकास तामाङ तथा विजय लिम्बू र प्रकाश लिम्बूको जोडी तेस्रो हुनुभएको छ ।
भेट्रान्सतर्फ बसन्त गुरुङ र सुरज मादेनको जोडी प्रथम तथा इन्द्र गुरुङ र मानबहादुर पालुङ्वाको जोडी दोस्रो भएको छ । भेट्रान्सतर्फ प्रथम र दोस्रो हुनेले क्रमशः १५ हजार र १० हजार रुपियाँ पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । सानबहादुर केदेम र किशोर राई तथा सन्तोष चोङ्बाङ र अमृत लङ्वाको जोडी तेस्रो भएको छ ।
जनप्रतिनिधि र कर्मचारीतर्फ लक्ष्मण घताने र सन्तोष तामाङको जोडी प्रथम, विकास तामाङ र फुर्वा शेर्पाको जोडी द्रोस्रो भएको छ । यसमा प्रथम र दोस्रो हुनेले क्रमशः १५ हजार र १० हजार नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ । सागर कठायत र भरत नेपाल तथा नेत्र मगर केशव पौडेलको जोडी तेस्रो भएको छ ।
त्यस्तै १५ वर्ष मुनिको पुरुषतर्फ कामा लिम्बू प्रथम, अंकित लिम्बू दोस्रो र रुजन गुरुङ तथा पुजन गुरुङ तेस्रो हुनुभएको छ । महिलातर्फ रेस्मा गुरुङ प्रथम, निसुम गुरुङ दोस्रो र रोस्नी लिम्बू तथा एन्जिला गुरुङ तेस्रो हुनुभएको छ । पुरुष र महिला दुवैतर्फ प्रथम र दोस्रो हुनेले क्रमशः छ हजार र चार हजार रुपियाँका दरले नगद पुरस्कार साथै ट्रफी, पदक र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगितामा सबै समूह तथा विधाका विजेताहरुलाई फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन लगायतले पुरस्कार रकम, ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो । फुङ्लिङ नगरपालिकाको आर्थिक व्यवस्थापनमा जिल्ला ब्याडमिन्टन संघ ताप्लेजुङले आयोजना गरेको प्रतियोगिता बिहीबार सुरु भई शनिबार बेलुकी अबेर सम्पन्न भएको हो । ब्याडमिन्टन संघ का जिल्ला अध्यक्ष सुरेश सिंघकका अनुसार प्रतियोगिता इन्द्रेणी ब्याडमिन्टन हलमा सञ्चालन गरिएको थियो ।