ताप्लेजुङ गोल्डकपमा बिधागततर्फ उत्कृष्ट हुनेले नगद १५ हजार पुरस्कार पाउने
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १० । भदौ १२ गते देखि ताप्लेजुङमा हुने चौथो संस्करणको ताप्लेजुङ गोल्डकपको बिधागततर्फ पाउने पुरस्कार राशी घोषणा गरिएको छ ।
म्यान अफ द म्याच देखि बिधागततर्फका सबै पुरस्कारको प्रायोजन भएको लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष दावा शेर्पाले जानकारी दिनुभयो । बिधागततर्फका बिजेताले नगद १५ हजार तथा म्यान अफ द म्याच हुनेले नगद ७ हजार रुपैयाँ प्राप्त गर्नेछन् । म्यान अफ द म्याच हुनेलाई ७ हजार रुपैयाँ बराबरको अलैंची पुरस्कार स्वरुप प्रदान गरिने लाखेजात्रा सञ्चालन समितिले जनाएको छ । म्यान अफ द म्याच हुनेहरुलाई मिक्वाखोला गाउँपालिकास्थित फङ्फङ्देन झरना पर्यटन विकास समितिका अध्यक्ष विजय साँवा लिम्बूले ६० हजार बराबरको अलैंची आयोजक लाखेजात्रा सञ्चालन समितिलाई हस्तान्तरण गरिसक्नु भएको छ । यसबर्ष बिधागततर्फ सर्वाधिक गोलकर्ता,उत्कृष्ट फरवार्ड,उत्कृष्ट डिफेण्डर,उत्कृष्ट गोलकिपर,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट प्रशिक्षक र नव उदयमान खेलाडी गरी ७ बिधामा पुरस्कार दिईने छ । बिधागततर्फका उत्कृष्ट हुनेले नगद १५ हजार रुपैयाँ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने भएका छन् ।
लाखेजात्रा सञ्चालन समितिका अनुसार सर्वाधिक गोलकर्ता र उत्कृष्ट फरवार्डलाई दिईने पुरस्कार स्वर्गीय बुबा धिरेन श्रेष्ठको स्मृतिमा सुमन श्रेष्ठले गर्ने हुनु भएको छ । नव उदयमान खेलाडीको पुरस्कार मणि थलङले,उत्कृष्ट गोलकिपरको पुरस्कार चन्द्र थापाले,उत्कृष्ट मिडफिल्डरको पुरस्कार लक्ष्मी भट्टराईले,उत्कृष्ट प्रशिक्षकको पुरस्कार जीवन पतङ्वाले र उत्कृष्ट डिफेन्सको पुरस्कार हाम्रो ग्यारेजका प्रोपाइटर युवराज बरालले गर्ने आयोजक समितिले जनाएको छ । यसबर्षको प्रतियोगितामा सर्बोत्कृष्ट हुने खेलाडीले बजाज कम्पनीको एकथान मोटरसाईकल उपहार पाउँछन् भने टिकट काटेर खेल अवलोकन गरेका दर्शकलाई भाग्यशाली पुरस्कार अन्तरगत गोलाप्रथाद्धारा छानिएका एकजना दर्शकले टिभिएसको एकथान स्कुटर उपहार पाउने छन् । प्रतियोगितामा प्रथम हुनेले नगद ७ लाख २ हजार ८३ रुपैयाँ र उपबिजेता हुनेले ३ लाख ५२ हजार ८३ रुपैयाँसहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् । ८ टीम सहभागी हुने प्रतियोगिता भदौ १९ गते सम्पन्न हुने भएको छ ।