सिरिजङ्गाको आर्थिक विधयेक : करेन्ट लगाई माछा मार्ने देखि म्याद गुज्रिएका समान बेच्नेसम्मलाई दण्ड र जरीवाना
खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिकामा दर्ता नगरी व्यवसाय सञ्चालन गर्ने देखि पसलमा मूल्य सूची नराख्नेसम्मलाई दण्ड र जरीवाना गर्ने भएको छ ।
पालिकाले चालु आर्थिक बर्ष २०८३।८४ का लागि स्वीकृत गरेको आर्थिक विधयेक अनुसार पालिकामा दर्ता नगरी व्यपार व्यवसाय सञ्चालन गर्ने र पसलमा मूल्य सूची नराख्नेलाई एक–एक हजार रुपैयाँ जरीवाना लाग्ने छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार मिति गुज्रिएका सामान बिक्री गर्ने सबै प्रकारका व्यवसायीलाई पहिलो पटकका लागि तीन हजार रुपैयाँ जरीवाना लाग्ने छ भने अर्को पटक यस्तो कार्य नदोहो-याउन सचेत गराइने छ ।
पालिकाको आर्थिक विधयेक अनुसार निशेधित स्थानमा फोहोर फाल्ने र जथाभावी पशु चौपाया छाड्ने व्यक्ति समेत दण्ड र जरीवानाको दाहेरामा आउने छन् । जथाभावी पशु चौपाया छाड्ने व्यक्तिलाई प्रति पशु चौपाया एकसय रुपैयाँका दरले र निशेधित स्थानमा फोहोर फाल्ने व्यक्तिलाई पहिलो पटकका लागि पाँच सय र त्यसपछि पटकै पिच्छे एक हजार रुपैयाँका दरले जरीवाना लिईने छ । अर्कालाई अप्ठ्यारो पर्ने नियतले रुख पर्खाल लगाउने तथा घर टहरा बनाउनेलाई समेत जरीवाना तोकिएको छ । अर्कालाई अप्ठ्यारो पर्ने नियतले रुख पर्खाल लगाउने तथा घर टहरा बनाएमा पालिकाले सुरुवातमा यस्तो संरचना हटाउन निर्देशन दिने र त्यसपछि नहटाए एक हजार रुपैयाँ जरीवाना लिई त्यस्तो संरचना स्थानीय प्रशासनको सहयोगमा पालिकाले हटाउने भएको छ । उक्त संरचना हटाउदा लाग्ने सम्पूर्ण खर्च सम्वन्धित व्यक्तिबाट असुल उपर गरिने पालिकाको आर्थिक विधयेकमा उल्लेख गरिएको छ ।
गाउँपालिकाले पालिकाको अनुमति बेगर पालिका क्षेत्रका नदीजन्य पदार्थ(ढुङ्गा,गिटी र बालुवा)उत्खनन् गरेमा पहिलो पटकका लागि १५ हजार रुपैयाँ जरीवाना लिने भएको छ । उक्त कार्य बारबार दोहो-याएमा पटकै पिच्छे पहिलो पटक लिएको जरीवानाको दोब्बर जरीवाना लिई उत्खनन् भएका सामग्री पालिकाले जफत समेत गर्ने नियम ल्याएको छ । तोकिएको कर,दस्तुर तथा सेवा शुल्क समयमा नबुझाएमा पालिकाले जरीवाना लिनेगरी त्यसको सीमा निर्धारण गरेको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेका अनुसार असोज महिना पश्चात व्यवसाय नविकरण गर्न आएमा १० प्रतिशत जरीवाना लाग्ने छ । यस्तो दस्तुर आर्थिक बर्षको समाप्ति पश्चात तिर्न आएमा ५० कूल नविकरण शुल्कको ५० प्रतिशत जरीवाना लाग्ने भएको छ । भूमि कर र घरधुरी कर(अभिलेखीकरण)को हकमा आर्थिक बर्ष समाप्त पश्चात आएमा पहिलो पटकका लागि १० प्रतिशत र त्यसपछि भने ५० प्रतिशत थप जरीवाना लाग्ने समेत पालिकाले जनाएको छ ।
गाउँपालिका भित्रका नदी,खोला,खोल्सीमा पाइने दुर्लभ असला र तिते माछा मार्न रसायनिक बिषादी,करेन्ट वा महाजाल लगाएमा संघीय र प्रादेशिक कानुनले तोकेको शुल्क कायम राखी गाउँपालिकाले थप १० हजार रुपैयाँ जरीवाना लिने भएको छ । पालिका भित्र सञ्चालित ल्याव,क्लिनिक,औषधि पसल,पशु चौपायाको औषधि बिक्री गर्ने पसलहरुले सम्वन्धित स्वास्थ्य सम्वन्धी मापदण्ड पालना नगरी व्यवसाय सञ्चालन गरेमा पहिलो पटकका लागि ५ हजार रुपैयाँ जरीवाना लिइने छ भने उक्त कार्य दोहोरिए नियमानुसार थप कारवाहीका लागि सम्वन्धित निकायमा लेखी पठाइने भएको छ । पालिका भित्र सञ्चालित ल्याव,क्लिनिक,औषधि पसल,पशु चौपायाको औषधि बिक्री गर्ने पसलहरुले म्याद गुज्रिएका औषधिजन्य सामग्री बिक्री बितरण गरेमा १० हजार रुपैयाँ जरीवाना तथा इजाजत पत्र खारेजी सहित थप कारवाहीका लागि सम्वन्धित निकायमा लेखी पठाउने गरी पालिकाले आर्थिक विधयेक कार्यान्वयनमा ल्याएको छ ।