|

महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता बृद्धिको बिषय कोशी सरकारको प्राथमिकतामा छ: मन्त्री लिम्बू

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ७ । कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री मानबहादुर लिम्बूले कोशी प्रदेशभरीका महिला स्वास्थ्य स्वयंसेविकाको प्रोत्साहन भत्ता बृद्धिको बिषय कोशी सरकारले आउँदो बजेटमार्फत सम्बोधन गर्ने बचन दिनु भएको छ ।

ताप्लेजुङ जिल्लालाई बिहीबार पूर्ण खोप सुनिश्चितता दिगोपना भएको जिल्ला घोषणा गर्दै प्रदेश स्वास्थ्य मन्त्री लिम्बूले कामका आधारमा महिला स्वास्थ्य स्वयंसेविकाहरु अन्यायमा परेको महशुष आफुले गरिरहेको बताउनुभयो ।‘आउँदो आर्थिक बर्षको बजेटमार्फत त्यसको उचित सम्बोधन हुने छ’मन्त्री लिम्बूले भन्नुभयो । उहाँले पूर्ण खोप सुनिश्चितता घोषणाले मात्र दायित्व पूरा हुने नभई पूर्ण खोपको दिगोपना समेत कायम राख्नुपर्ने बिषय कसैले बिर्सन नहुने बताउनुभयो । ताप्लेजुङ जिल्ला अस्पतालको भवन निर्माण देखि त्यहाँ भित्रका शासकीय समस्यालाई सुधार गर्न कोशी प्रदेश सरकारले नियमित नजर लगाईरहेको मन्त्री लिम्बूको भनाई थियो ।‘जसले जे कार्य गर्छ,उसले त्यही कार्यका आधारमा सजाय पनि भोग्छ,आज त्यो चरित्र र प्रवृति हारेको छ’मन्त्री लिम्बूले कसैको नाम नलिईकन संकेत मात्र गर्नुभयो । ताप्लेजुङ जिल्ला अस्पतालमा चाहिने सामग्री,उपकरण,जनशक्ति सहितको सूची तयार पारी मन्त्रालयमा पठाउन उहाँले ताप्लेजुङ जिल्ला अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर किरण थापालाई निर्देशन दिनुभयो ।

स्वास्थ्य सेवा गुणस्तरीय,नागगरिकको सहज पहुँचयुक्त र प्रभावकारी बन्नुपर्नेमा कोशी सरकार प्रतिबद्ध रहेको बताउँदै मन्त्री लिम्बूले बाल तथा मातृ मृत्युदर शुन्य बनाउन स्वास्थ्य सेवालाई बिशेष प्राथमिकता दिनुपर्ने धारणा राख्नुभयो । आउने बजेटबाट ताप्लेजुङ जिल्ला अस्पतालको निर्माणाधिन अवस्था सुधार गर्ने बिषय आफ्नो प्राथमिकतामा रहेको समेत बताउनुभयो । कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा प्रदेशसभा सदस्य खगेनसिं हाङगामले ताप्लेजुङ अस्पतालमा सुशासनको सरसफाई अभियान आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले अस्पतालको भवन निर्माण कार्य अलपत्र हुने संशय अझै जीवितै रहेको बताउँदै यसलाई नयाँ ढंगले सोचेर अघि बढ्न खरिद ऐन संशोधन सहितका बिषय प्रधान हुने बताउनुभयो ।

कोशी प्रदेश सरकारका पूर्व मन्त्री तथा प्रदेशसभा सदस्य निर्मला तावाले ताप्लेजुङ जिल्ला अस्पताल सहितका स्वास्थ्यका अपूरा भवनलाई पूर्णता दिन सरकारले उचित ध्यान दिनुपर्ने बताउनुभयो । फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले स्वास्थ्य र शिक्षाको प्रभावकारी व्यवस्थापनको अभावमा ताप्लेजुङ सहितका पहाडी र हिमाली जिल्लाको जनसंख्या बसाँइ सराईका बर्षेनि घट्दो रुपमा रहेको भन्दै यसलाई सुधार गर्न कोशी सरकारको ध्यानाकर्षण गर्नुभयो । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँले स्वास्थ्य जस्तो सम्बेदनशिल बिषयलाई चुस्त,सेवाग्राहीको आवश्यकता पूर्ति हुने प्रकृतिको र सबै नागरिकको पहुँचमा स्थापित गर्न सक्नु आजको आवश्यकता रहेको बताउनुभयो ।

पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा कार्यक्रममा बोल्दै फुङलिङ नगरपालिकाका जनस्वास्थ्य अधिकृत प्रतिमा खोयाहाङले ‘खोज र खोप’अभियानमा महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मीको भूमिका बलियो र गर्व गर्न लायक रहेको बताउनुभयो । पूर्ण खोप सुनिश्चितता दिगोपना स्थानीय तह बनाउन भूमिका खेलेको भन्दै कार्यक्रममा ताप्लेजुङका ९ वटै स्थानीय तहका स्वास्थ्य शाखा संयोजकहरुलाई प्रशंसापत्र र दोसल्ला सहित सम्मान गरिएको थियो ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका कोल्डचेन निरीक्षक दिनेश रायका अनुसार वडा र पालिका पूर्ण खोप सुनिश्चितता घोषणा भएसंगै जिल्ला समेत पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्लाको रुपमा घोषित भएको हो । कार्यक्रममा स्वास्थ्य कार्यालय ताप्लेजुङका प्रमुख सुमन तिवारीले पूर्ण खोप सुनिश्चिचता अभियानका सूचक र परिणाम बारे कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।

Similar Posts