सरकारी सञ्चारमाध्यममा मात्र विज्ञापन प्रकाशन प्रसारण गर्ने सरकारको निर्णयमा पत्रकार महासंघ ताप्लेजुङको बिरोध

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख १० । पत्रकार महासंघ ताप्लेजुङले सरकारी सञ्चार माध्यममा मात्र सरकारी विज्ञापन प्रकाशन तथा प्रसारण गर्नुपर्ने गरी सरकारले जारी गरेको परिपत्र तत्काल खारेज गर्न माग गरेको छ ।

महासंघले बिहीबार प्रमुख जिल्ला अधिकारी शिवराज सेढाइँमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा ज्ञापनपत्र बुझाउँदै विज्ञापन वितरणलाई पारदर्शी,समानुपातिक र समावेशी बनाउँदै सबै सञ्चार माध्यममा विज्ञापनको न्योयोचित बितरण गर्न,संकटग्रस्त सञ्चार क्षेत्रलाई संरक्षण तथा प्रर्वद्धन गर्ने दीर्घकालिन नीतिगत व्यवस्था गरी समानुपातिक विज्ञापन प्रणाली लागु गर्न सरकार समक्ष माग गरेको छ । पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्यको नेतृत्वमा पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वा,पूर्व जिल्ला अध्यक्ष आनन्द गौतम,सचिव कृष्ण फुरुम्बो लिम्बू सहितका पदाधिकारी तथा सदस्य प्रशासन कार्यालय पुगेर जिल्ला प्रशासन कार्यालयमार्फत निजी सञ्चार माध्यमलाई सरकारी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न सरकारले लगाएको रोकप्रति आपत्ति जनाउँदै सरकारलाई ज्ञापनपत्र बुझाउनु भएको हो ।

ज्ञापनपत्रमा संघीयताको आधारभूत मर्म विपरित सरकारी सञ्चार माध्यममा मात्र सरकारी विज्ञापन प्रकाशन तथा प्रसारण गर्नुपर्ने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को ठाडो निर्णय तत्काल खारेज गर्न माग गरिएको छ । ज्ञापन पत्रमा यस्तो कार्यले निजी सञ्चार माध्यमलाई आर्थिक रुपमा कमजोर बनाउँदै स्वतन्त्र पत्रकारिता माथि अप्रत्क्ष दबाब सृजना गरिएको दावी गरिएको छ । संविधान,कानुन र अन्तराष्ट्रिय मूल्य र मान्यता र खुल्ला अर्थ नीति विपरितको उक्त कार्य आपत्तिजनक र अस्वीकार्य रहेको पत्रकार महासंघ ताप्लेजुङले जनाएको छ । सरकारको यो गलत नीतिले हाल देशभर रहेका चारसय भन्दा बढी रेडियो,पत्रपत्रिका,टेलिभिजन र अनलाइन मिडियाको आर्थिक आधार कमजोर बनाउँदै ति संस्थाको अस्थित्व र हजारौं श्रमजीवि पत्रकार,सञ्चारकर्मी,मजदुर र कर्मचारीको रोजगारी संकटमा परेको पत्रकार महासंघ ताप्लेजुङले दावी गरेको छ ।

महासंघले सरकारको यो निर्णय तत्काल खारेज नभए थप संघर्षका कार्यक्रम अघि बढाउने समेत चेतावनी दिएको छ । ताप्लेजुङमा अहिले तीनवटा रेडियो,एक दैनिक,एक साप्ताहिक पत्रिका र डेढ दर्जन बढी अनलाइन सञ्चार माध्यम प्रकाशन तथा प्रसारणमा रहेको महासंघले जनाएको छ ।

Similar Posts