केवलकारको पक्षमा फुङलिङमा निकालियो सद्भाव र्याली

उज्यालो पोष्ट
ताप्लेजुङ,फागुन ६ । पाथीभरा क्षेत्रमा केवलकार निर्माणको पक्षमा रहेकाहरुले मंगलवार फुङलिङमा सद्भाव र्याली निकालेका छन् ।
ताप्लेजुङ विकास प्रेमी युवा समाजको ब्यानरमा निकालिएको र्याली नगर परिक्रमा गर्दै वीरेन्द्रचौकमा आएर कोणसभामा परिणत हुने तयारी रहेको आयोजकले जनाएका छन् । बृद्ध–बृद्धा के भन्छ,केवलकार ले भन्छ’ ‘अशक्तले के भन्छ,केवलकार ले भन्छ’ताप्लेजुङ जिल्लाको समृद्धिको आधार, पाथीभरा मुक्कुमलुङमा केवलकार’जस्ता नारा लगाउँदै प्रर्दशन गरिएको छ । र्यालीमा फुङलिङ नगरप्रमुख अमिर मादेन सहित नगर क्षेत्रका जनप्रतिनिधि समेत सहभागी छन् ।
उद्योगी,व्यवसायी र नागरिक समाजका अगुवा समेत र्याली स्र्फुत रुपमा सहभागी भएको नगरप्रमुख मादेनले बताउनुभयो। यसअघि पनि केवलकार पक्षधरहरुले सद्भाव र्याली र मोटर साइकल निकालेका थिए । यता केवलकार निर्माणको बिपक्षमा रहेका आन्दोलनरत पक्षले पाथीभरा मन्दिरमा क्षमा पूजा र मुक्कुमलुङ पदयात्रा सुरु गर्ने भएका छन् ।
मंगलवारबाट सुरु हुने पदयात्रा फागुन ८ गते बिहीबार फुङलिङ आइपुग्ने ‘नो केवलकार’पक्षका नवीन पोमूले जानकारी दिए । पोमूका अनुसार‘नो केवलकार’पक्षले पाथीभरा मन्दिरमा क्षमापूजा भने हरेक दिन बिहान गर्नेगरी तयारी गरेको छ । मुन्धुमी धार्मिक स्थलमा भौतिक संरचना बनाएर साँस्कृतिक अतिक्रमण गरेको भन्दै युमामाङसँग प्रार्थनाका लागि क्षमा पूजा गर्न लागिएको‘नो केवलकार’पक्षले जनाएको छ ।