अकबरे खुर्सानी खेतिको प्रर्वद्धन गर्दै मैवाखोला
उज्यालो पोष्ट
ताप्लेजुङ,चैत २३ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले अकबरे खुर्सानीको प्रर्वद्धनका लागि खुर्सानी खेतिका लागि सहयोग र तालिम समेत प्रदान गर्ने भएको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार विपन्न वा वहुविपन्न महिला,एकल महिला,हिंसा पीडित,भूमिहिन,सीमान्तकृत तथा दलित समुदायका विपन्न महिला र कृषि बाहेक अन्य कुनै आयआर्जनका स्रोत नभएका महिलालाई लक्षित गरी यो कार्यक्रम सञ्चालन गर्न लागिएको हो । छनौट भएका प्रस्तावमध्ये बढीमा २६ जनालाई अकबरे खुर्सानी सम्वन्धी तालिम समेत गाउँपालिकाले दिनेगरी तयारी गरेको छ । प्रस्तावकले २६ हजार मूल्य बराबरको अकबरे खुर्सानी खेति सम्वन्धी प्रस्ताव,कम्तिमा एक रोपनी जग्गा भएको धनीपूर्जा सहितको विवरण समेत प्रस्तावसंगै राख्नुपर्ने पालिकाले जनाएको छ ।
प्रमुख प्रशासकीय अधिकृत गोम्देनका अनुसार महिला,बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयबाट प्राप्त सर्शत अनुदानको कुल ९ लाख रुपैयाँको बजेटबाट उक्त कार्यक्रम सञ्चालन गर्न लागिएको हो । पालिकाले यो कार्यक्रमलाई जीवीकोपार्जन सुधार कार्यक्रम भनेको छ । उक्त कार्यक्रम सञ्चालनका लागि संस्था छनौट गर्नेगरी पहिलो र दोस्रो पटक सूचना आवह्वान गर्दा समेत प्रस्ताव पेश नभएकोले पालिकाले प्रस्ताव मूल्याङ्कन तथा छनौट समितिको सिफारिस बमोजिम अकबरे खुर्सानीको प्रर्वद्धनका लागि कार्यक्रम सञ्चालन गर्न लागिएको पालिकाले जनाएको छ ।