मैवाखोलासँग विश्व बैंकले विपद् व्यवस्थापनमा सहकार्य गर्ने

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत १९ । ताप्लेजुङको मैवाखोला गाउँपालिकासँग विश्व बैंकले विपद् व्यवस्थापनको कार्यमा साझेदारी गर्ने भएको छ । गत बर्खा मौसममा निकै ठूलो विपद्को सामना गरेको गाउँपालिकासँग विपद् व्यवस्थापन तथा जोखिम न्युनीकरणको कार्यमा बैंकले साझेदारी गर्ने भएको हो ।
मैवाखोला गाउँपालिका आइपुगेको विश्व बैंकको टोलीसँग भएको छलफलमा विपद् व्यवस्थापन र जोखिम न्युनीकरणका लागि सहकार्य गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो । अध्यक्ष वनेमका अनुसार विपद् व्यवस्थापनमा गर्नुपर्ने काममा विश्व बैंकले सहयोग गर्ने भएको छ ।
गाउँपालिकाको बिपद् जोखिम न्युनीकरणको क्षेत्र, बिपद् सम्बन्धी पूर्वसूचना, पुनःस्थापनाको क्षेत्रमा प्रयोग हुने स्थानीय सामग्रीको वैज्ञानिक छनोटलगायतमा बैंकले सहयोग गर्ने छ । यस्तै निर्माणका लागि आवश्यक पर्ने सीपसम्बन्धी तालिमहरु उपलब्ध गराउने र पालिकाभित्र उद्यमी सिर्जना गर्नेलगायत योजनामा गाउँपालिका र विश्व बैंकबीच सहकार्य गर्ने समझदारी भएको हो ।
छलफलमा गाउँपालिकाका तर्फबाट अध्यक्ष वनेम, निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देन र अन्य जनप्रतिनिधि सहभागी हुनुभएको थियो । त्यस्तै विश्व बैंकका तर्फबाट विपद् व्यवस्थापनविद करिना फोनसेका फेरैना, सूचनाविद् जोन फिनिन्गन, वरिष्ठ सामाजिक विकासविज्ञ इशा घर्ती, इन्जिनियर विपिनकुमार गौतम र कार्यक्रम संयोजक आशिष श्रेष्ठ सहभागी हुनुभयो ।
विश्व बैंकसँग विपद् व्यवस्थापनको काममा सहकार्य गर्ने समझदारीले गाउँपालिकालाई ठूलो सहयोग पुग्ने विश्वास लिएको पालिका अध्यक्ष वनेमको भनाइ छ । विपद् व्यवस्थापनमा सहकार्य गर्नेगरी आएको विश्व बैंकको टोलीलाई गाउँपालिकाको तर्फबाट वनेमले धन्यवाद ज्ञापन दिँदै सम्मानसमेत गर्नुभयो ।
गत असार पहिलो साता भीषण वर्षासँगै गएको बाढीपहिरोले मैवाखोला गाउँपालिकामा मानवीय साथै भौतिक पूर्वाधारतर्फ ठूलो क्षति गरेको थियो । बाढी पहिरोले मानव बस्ती नै उच्च जोखिममा पु¥याएका कारण गाउँपालिकाको वडा ३ र ४ साँघुका ६५ परिवारलाई तत्काल अस्थायी आवास निर्माण गरी सुरक्षित ठाउँमा स्थानान्तरण गरिएको थियो । पीडित परिवार अहिले पनि आवासस्थलमै बसोबास गर्दै आएका छन् ।