|

मैवाखोलामा बहुउद्देश्यीय कभर्ड हल निर्माण

-प्रयास लिम्बू
ताप्लेजुङ, चैत १८ । ताप्लेजुङको मैवाखोला गाउँपालिकामा बहुउद्देश्यीय कवर्ड हल निर्माण गरिएको छ । खेलाडी उत्पादन गर्ने साथै उनीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यसहित गाउँपालिकाले कभर्ड हल निर्माण गरेको हो ।
पालिकाको प्रशासकीय केन्द्रस्थित साँघुमा निर्माण गरिएको बहुउद्देश्यीय कभर्ड हलको बुधबार गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले कभर्ड हलको उत्दघाटन गर्नुभएको छ । उद्घाटन भएसँगै कभर्ड हल औपचारिक रुपमा सञ्चालनमा आएको गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ ढुङ्गेसाँघुका वडाध्यक्ष चन्द्रकुमार तामाङले जानकारी दिनुभयो ।
कवर्ड हल सञ्चालनसँगै खेलकुद क्षेत्रको विकास, खेलाडी उत्पादन र खेलाडीको क्षमता अभिवृद्धि साथै विकास गर्नमा टेवा पुग्ने गाउँपालिकाले अपेक्षा राखेको छ । अघिल्लो आर्थिक वर्ष २०८०-८१ देखि कभर्ड हल निर्माणको काम सुरु यसवर्ष सम्पन्न भएको गाउँपालिकाकी निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनले जानकारी दिनुभयो ।
भर्खरै सम्पन्न भएको बहुउद्देश्यीय कवर्ड हल कुल दुई करोड १३ लाख ४८ हजार ५०३ रुपियाँको लागतमा निर्माण गरिएको हो । आधुनिक तथा सुविधा सम्पन्न संरचनासहित निर्माण भएको कभर्ड हलमा भलिबल, ब्याडमिन्टन, कराँते, उसुसहित तेक्वान्दोका खेलहरु सञ्चालन गर्न सकिने गाउँपालिकाका प्रवक्ता तामाङले जानकारी दिनुभयो । उहाँका अनुसार चमेना गृह, प्याराफिट (दर्शकदिर्घा), पोशाक परिवर्तन कक्ष, शौचालयसमेत रहेको सुविधा सम्पन्न कभर्ड हल निर्माण भएको छ ।
यता गाउँपालिका अध्यक्ष वनेमले कभर्ड हल निर्माण सम्पन्न भई सञ्चालनमा आएसँगै स्थानीय खेलाडीको लामो समयदेखि रहँदै आएको माग आंशिक रूपमा पूरा भएको बताउनुभयो । खेलाडीको क्षमता अभिवृद्धि तथा विकास, खेलाडी उत्पादन गर्नेलगायत खेलकुदका क्षेत्रमा आवश्यकता अनुसार योगदान र लगानी गर्न गाउँपालिका सधैं तयार रहेको पनि उहाँले बताउनुभयो । कभर्ड हल उद्घाटनमा विभिन्न वडाका जनप्रतिनिधि, स्थानीय लगायतको सहभागिता रहेको थियो ।

Similar Posts