६० बर्षदेखि नै स्थानीय सामाजिक सुरक्षा भत्ता दिन फक्ताङलुङमा संकलन गर्न थालियो विवरण

खगेन्द्र अधिकारी
ताप्लेजुङ,साउन ३० । ६० देखि ७० वर्ष उमेर समूहका नागरिकलाई मासिक रुपमा स्थानीय सामाजिक सुरक्षा प्रदान गर्ने प्रयोजनका लागि ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले तथ्याङ्क संकलन गर्न थालेको छ ।

संघीय सरकारले ७० वर्षपछि मात्रै ज्येष्ठ नागरिक भत्ता उपलब्ध गराउने गरेकोमा फक्ताङलुङ गाउँपालिकाले भने चालु आर्थिक बर्षबाट ६० देखि ६९ बर्ष उमेर समूहका नागरिक स्थानीय सरकारको सामाजिक उत्तरदायित्व अन्तरगत मासिक रुपमा सामाजिक सुरक्षा भत्ता दिने निर्णय गरेको पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले जानकारी दिनुभयो । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मैताहाङ लिम्बूका अनुसार उक्त उमेर समूहका नागरिकको विवरण संकलन गरी उपलब्ध गराउन पालिकाका ७ वटै वडालाई पत्राचार गरिएको छ । भदौ ५ गते भित्र विवरण संकलन गरी पठाउन पालिकाका सबै वडाहरुलाई आग्रह गरिएको प्रमुख प्रशासकीय अधिकृत लिम्बूले जानकारी दिनुभयो । पालिकाले लाभग्राहीको नाम,थर र वतन,जन्म मिति,नागरिकता नम्बर जारी मिति र जारी गर्ने निकाय तथा सरकारबाट अन्य सेवा सुविधा वा सामाजिक सुरक्षा भत्ता प्राप्त गरे नगरेको सहितका विवरण संकलन गर्ने छ ।

पालिका अध्यक्ष लिम्बूले गत असार १० गते पालिकाको २० औं गाउँसभा बजेट अधिबेशनमा पालिका भित्रका ६० बर्ष देखि ७० बर्ष भित्रका नागरिकलाई उनीहरुको दैनिकी सहज बनाउन पालिकाले आफ्नै बजेटबाट स्थानीय सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने घोषणा गर्नु भएको थियो । पालिका अध्यक्ष लिम्बूले प्रस्तुत गरेको नीति तथा कार्यक्रम पारित भएपछि उपाध्यक्ष रवीन साम्रा(विकास)ले चालु आवका लागि प्रस्तुत गरेको बजेटमा ६० देखि ७० बर्ष भित्रका उमेर समूहका नागरिकका लागि स्थानीय सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउन बजेटको व्यवस्था गर्नु भएको थियो । पालिका अध्यक्ष लिम्बूले ६० देखि ७० वर्ष उमेर समूहका नागरिकको आर्थिक तथा सामाजिक अवस्थालाई सम्बोधन गर्न चालु बर्षको नवीनतम् योजनाको रुपमा स्थानीय सामाजिक सुरक्षा भत्ता उपलब्ध गराउने बताउनुभयो ।

 

Similar Posts