|

हावाहुरीले दर्जनौ घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा ७५ लाख बढी नोक्सानी

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ३ । ताप्लेजुङमा हावाहुरीले डेढ दर्जन बढी निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको नोक्सानी भएको छ । प्रहरीका अनुसार आइतबार र सोमबार चलेको हावाहुरीले जिल्लाको विभिन्न ठाउँमा मानिसको घर गोठ तथा सार्वजनिक संरचनामा क्षति गर्दा उक्त नोकसानी हुन पुगेको हो ।
ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमका अनुसार वर्षासँगै आएको हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा क्षति गरेको हो । मानिसको घर गोठ र वडा कार्यालयसहितका सार्वजनिक संरचनामा हावाहुरीले क्षति पु¥याउँदा ७५ लाख ५० हजार रुपियाँ बराबरको नोक्सानी भएको प्रारम्भिक विवरण संकलन गरिएको प्रनाउ गौतमले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्लाको पूर्वी क्षेत्र सिदिङ्वा गाउँपालिकामा हावाहुरीले बढी क्षति गरेको छ । सो गाउँपालिका वडा नम्बर २ सादेवास्थित पुरानो वडा कार्यालय भवनको छाना हावाहुरीले उडाउँदा ५० लाख रुपियाँ बराबरको क्षति हुन पुगेको प्रहीले तथ्यांक सङ्कलन गरेको छ । सोही वडाको नयाँ भवनसँगै रहेको खाद्यान्न पिस्ने मिलको छाना हावाहुरीले उडाउँदा करिव दुई लाख रुपियाँ बराबरको क्षति भएको वडाध्यक्ष पूर्णबहादुर लिम्बूले जानकारी दिनुभयो ।
यस्तै सिदिङ्वा गाउँपालिकाकै वडा नं ३ आङ्खोपमा स्थानीय राजन बराइलीको जस्तापाले छाएको घरको छाना हावाहुरीले उडाउँदा एकलाख ५० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । सोही गाउँपालिका वडा नं. ५ लिम्बुदिनस्थित याङ्खापाका विराज इधिङ्गोको कच्ची घरको फुसको छाना उडाउँदा दुई लाख रुपियाँ बराबरको क्षति भएको छ ।
याङ्खापाकै रत्नबहादुर इधिङ्गोको घरको फुस (खर) को छाना हावाहुरीले उडाउँदा दुई लाख रुपियाँ बराबरको क्षति हुन पुगेको प्रहरीले जनाएको छ । लिम्बुदिनका वडाध्यक्ष अमरबहादुर लिम्बूका अनुसार हावाहुरीका कारण सिमल र बरको रुख ढलेर चुङ्बुङ टोलका टीका राईको घरमा क्षति पुगेको छ । सोही ठाउँमा रहेको अम्विका आधारभूत विद्यालयको शौचालयमासमेत क्षति पुगेको वडाध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।
सिदिङ्वा गाउँपालिकाकै वडा नं. ६ मेहेलेमा स्थानीय चन्द्र बहादुर कामी, रुपमाया राई, देवीप्रसाद गौतम र मनकुमार राईको घरमा हावाहुरीले क्षति गरेको छ । त्यस्तै सोही वडाका अमृत लिङ्देन, सञ्जिव राई र कलादेवी राईको घरमा समेत हावाहुरीले क्षति गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उहाँहरु सबैको जस्तापाता र फुसले छाएको घरको छाना हावाहुरीले उडाउँदा पाँच लाख ८० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मेहेलेमै केशरमान राई र सुजन राईको स्मृतिमा निर्माण गरिएको पक्की धर्मशाला (विश्रामस्थल) हावाहुरीका कारण रुख ढलेर भत्किँदा तीन लाख रुपियाँ बराबरको क्षति भएको छ । सोही गाउँपालिका वडा नं. ७ सुरुम्खिममा स्थानीय फूलमाया गुरुङ र मानबहादुर कामीको जस्तापाता छाएको घरको छाना तथा लक्ष्मण पाँचकोटीको फुसले छाएको घरको छाना हावाहुरीले उडाउँदा सात लाख १० हजार रुपियाँ बराबरको क्षति हुने पुगेको प्रहरीले विवरण संकलन गरेको छ ।
यसैगरी जिल्लाको पाथीभरा याङ्वरक गाउँपालिका–५ चाक्सिबोटेको फाक्से दोभानका हर्कबहादुर तामाङको घरको छाना हावाहुरीले उडाएर क्षति पु¥याउँदा एक लाख ५० हजार रुपियाँ बराबरको नोक्सानी भएको छ । त्यस्तै आठराई त्रिबेणी गाउँपालिका–३ हाङ्पाङका धनबहादुर बराइलीको कच्ची घरको छाना हावाहुरीले उडाउँदा ४० हजार रुपियाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यता हावाहुरी र वर्षासँगै असिना पर्दा किसानले लगाएको विभिन्न बालीमा क्षतिसमेत गरेको स्थानीयले बताएका छन् ।

Similar Posts