ताप्लेजुङमा प्रत्यक्ष भन्दा समानुपातिक मत कुनै दलको बढ्यो,कुनै दलको ठूलो मतान्तरले घट्यो
खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन २५ । ताप्लेजुङमा काँग्रेस,एमाले र नेपाली कम्युनिष्ट पार्टी सहितका उम्मेदवारले प्रत्यक्षतर्फ लाएको मत भन्दा समानुपातिकमा कम मत ल्याउँदा राश्वपा र श्रम संस्कृति पार्टीका उम्मेदवारले भन्दा बढी मत समानुपातिकमा खसेको छ ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार नेकपा एमालेका उम्मेदवार क्षितिज थेबे १३ हजार ९ सय ६२ मत ल्याएर विजयी हुनु भएको थियो । तर समानुपातिमा भने एमालेले प्रत्यक्ष भन्दा २ हजार ६ सय १७ मत कम अर्थात् ११ हजार ३ सय ४५ मत ल्याएको छ । थेबेका निकटतम् प्रतिश्पर्धी रहेका नेपाली काँग्रेसका उम्मेदवार गजेन्द्रप्रसाद तुम्याहाङले ११ हजार ७ सय ११ मत ल्याउनु भएको थियो । काँग्रेसले समानुपातिकतर्फ प्रत्यक्ष भन्दा २ हजार ६८ मत कम ल्याएको छ । काँग्रेसले ९ हजार ६ सय ४३ मत ल्यायो । नेपाली कम्युनिष्ट पार्टीले समानुपातिकमा ५ हजार २ सय १४ मत ल्याएको छ । उक्त पार्टीकातर्फबाट प्रत्यक्षतर्फ प्रतिश्पर्धामा रहनु भएका खेलप्रसाद बुढाक्षेत्रीले ६ हजार ६ सय ७५ मत ल्याउनु भएको थियो । बुढाक्षेत्रीले प्राप्त गरेको मत भन्दा नेकपाले समानुपातिकतर्फ प्राप्त गरेको मत १ हजार ५ सय ६९ ले कम हो ।
श्रम संस्कृति पार्टीका सन्तोष राईले ५ हजार २ सय ९ मत ल्याउनु भएको थियो । तर समानुपातिकतर्फ श्रम संस्कृति पार्टीले प्रत्यक्षमा राईले पाएको भन्दा ३ हजार ४ सय ८९ मत थपेर कुल ८ हजार ६ सय ९८ मत ल्याएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ल्याएको मत भन्दा उक्त पार्टीले समानुपातिकतर्फ २ हजार ३ सय ४० मत थपेको छ । श्रेष्ठले ४ हजार १ सय ५५ मत ल्याउनु भएको थियो । समानुपातिकमा राश्वपाले ६ हजार ४ सय ९५ मत ल्याएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मुक्साम लावुङ र राष्ट्रिय प्रजातन्त्र पार्टीका इन्द्रप्रसाद थापाले प्राप्त गरेको मत भन्दा समानुपातिमा ति पार्टीलाई प्राप्त भएको मत बढी देखिएको छ । लावुङले २ सय ११ मत प्राप्त गर्नु भएको थियो । समानुपातिकमा भने मञ्चले ५ सय १० मत प्राप्त गरेको छ । यो प्रत्यक्ष भन्दा २ सय ८९ मतले बढी हो । राप्रपा उम्मेदवार थापाले समानुपातिक भन्दा २ सय ३० मत कम प्राप्त गर्नु भएको छ । उहाँले प्रत्यक्षमा १ सय ८५ मत प्राप्त गर्नु भएको थियो ।
राप्रपाले समानुपातिकमा ४ सय १५ मत प्राप्त गरेको छ । नेपाल कम्युनिष्ट पार्टी(माओवादी)का नरपति पौडेलले समानुपातिक भन्दा बढी मत आफुले ल्याउनु भएको छ । उहाँले १ सय ५५ मत ल्याउँदा समानुपातिकमा भने उहाँको भन्दा ३६ मत कम अर्थात् १ सय १९ मत ल्याएको छ । जनता समाजवादी पार्टीका अरुण लेछर्बो लिम्बूले समानुपातिक भन्दा बढी मत ल्याएका छन् । उहाँले १ सय ४१ मत ल्याउँदा उहाँ आवद्ध दलले प्रत्यक्ष भन्दा २५ मत कम अर्थात् १ सय १६ मत आएको छ ।
जसपा नेपालका सूर्य तमूले पाएको भन्दा बढी मत पार्टीले पाएको छ । तमूले ५५ मत पाउँदा उहाँको पार्टीले समानुपातिकमा ६२ मत बढी अर्थात् १ सय १७ मत पाएको छ । मंगोल नेस्नल अर्गनाइजेसनका उम्मेदवार सन्तबहादुर लिम्बूले प्राप्त गरेको मत र उक्त पार्टीले पाएको मत बराबर जस्तै देखिन्छ । लिम्बूले ५० मत पाउँदा समानुपातिकमा भने प्रत्यक्ष भन्दा मात्र १ मत कम अर्थात् ४९ मत आएको छ । नेपाल जनमुक्ति पार्टीका इन्द्रकुमार थलङ लिम्बूले ४६ मत ल्याउँदा समानुपातिमा भने उक्त पार्टीले प्रत्यक्ष उम्मेदवार भन्दा ११ मत बढी ल्याएको छ । लिम्बूले ४६ मत ल्याउँदा समानुपातिमा ५७ मत आएको छ । उज्यालो नेपाल पार्टीका कीर्तिमान मादेनले प्रत्यक्षमा २ सय ३२ मत ल्याउनु भएको छ । नेपाल परिवर्तन पार्टीको बाँसुरी चिन्हलाई समानुपातिमा मतदान गर्नुपर्ने भएकोले बाँसुरी चिन्हले ताप्लेजुङबाट १ सय ९४ मत पाएको छ ।