ताप्लेजुङमा एचपिभी खोप लगाउन सुरु
-उज्यालो पोष्ट
ताप्लेजुङ, माघ २८ । ताप्लेजुङमा बुधबारदेखि एचपिभी (ह्युमन पपिलोमा भाइरस) खोप कार्यक्रम सुरु भएको । पाठेघरको मुखको क्यान्सर रोकथामका लागि राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत एचपिभी खोप कार्यक्रम सुरु भएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार विद्यालय केन्द्रित एचपिभी खोप कार्यक्रम जिल्लाभर सुरु भएको हो । कार्यक्रम सुरु भएसँगै विद्यालय विद्यालय पुगेर १० देखि १४ वर्ष उमेर समूहका बालिका तथा किशोरीलाई एचपिभी खोप लगाउन थालिएको स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिनुभयो ।
स्वास्थ्य कार्यालय प्रमुख तिवारीका अनुसार कक्षा ६ देखि १० सम्म अध्ययनरत छात्रालाई लक्षित गरी विद्यालयमै पुगेर लक्षित उमेरका बालिका तथा किशोरीलाई एचपिभी खोप लगाउन थालिएको हो । बुधबारदेखि सुरु भएको खोप कार्यक्रम फागुन १ गतेसम्म सञ्चालन हुने उहाँले जानकारी दिनुभयो ।
एचपिभी खोप कार्यक्रम सञ्चालन गर्न जिल्लामा २०७ वटा खोप केन्द्र निर्धारण गरी खोप दिन सुरु गरिएको स्वास्थ्य कार्याल्यले जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार अधिकाँस खोप केन्द्र विद्यालयमा रहने छ । यता खोप कार्यक्रम सञ्चालनका लागि २०३ जना स्वास्थ्यकर्मी र २०७ जना स्वयंसेविका परिचालित भएका छन् ।
स्वास्थ्य कार्यालयका खोप अधिकृत दिनेश रायका लक्षित उमेर समूहका एक हजार ३४२ जनालाई खोप दिने स्वास्थ्य कार्यालयको लक्ष्य रहेको छ । जिल्ला अस्पताल ताप्लेजुङका मेडिकल सुपरीटेन्डेन्ट डाक्टर प्रनाम जयरुले पाठेघरको मुखको क्यान्सर रोकथाम र नियन्त्रणका लागि खोप प्रभावकारी रहेकाले खोप कार्यक्रममा ढुक्क भएर सामेल हुन लक्षित पक्षलाई आग्रह गर्नुभएको छ ।