फक्ताङलुङद्धारा पालिका भित्रका जलविद्युत आयोजनालाई ७ दिनभित्र सिएसआर सहितका विवरण पेश गर्न निर्देशन
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ ३० । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले पालिका क्षेत्रमा पर्ने ६ वटा जलविद्युत आयोजनाहरुलाई सामुदायिक उत्तरदायित्वसंग सम्वन्धित कागजात सहित आयोजनाको सम्पूर्ण विवरण ७ दिन दिन भित्र पेश गर्न म्याद दिएको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले मंगलवार साँझ एक सार्वजनिक पत्रमार्फत ६ वटा विवरण ७ दिन भित्र पेश गर्न अनुरोधसहितको पत्र पठाउनु भएको हो । पालिका अध्यक्ष लिम्बूद्धारा प्रेषित पत्र अनुसार २८५ मेगावाटको तमोर इनर्जी प्रालि,१६६ मेगावाटको सुपर तमोर,७७.५ मेगावाटको घुन्साखोला रेमिट,७३.५ मेगावाटको सानिमा मिडिल तमोर,७०.३ मेगावाटको सिम्बुवाखोला रेमिट र ३७.५ मेगावाटको तमोर–५ जलविद्युत परियोजनालाई ६ वटा शीर्षकमा ७ दिन भित्र विवरण पठाउन भनिएको छ ।
पालिका अध्यक्ष लिम्बूका अनुसार पालिका क्षेत्रमा सञ्चालित जलविद्युत आयोजनाहरुले कञ्चनजंघा संरक्षण क्षेत्रले चर्चेको जग्गा,अन्य जग्गा र क्षेत्र(सरकारी,निजी र ऐलानी)को विवरण,भवनको संरचना पालिकाको मापदण्ड बमोजिक भए नभएको,बार्षिक रुपमा पालिकालाई के कति रोयल्टी बुझाएको,ढुङ्गा,गिटी,बालुवा सञ्चालनका लागि पालिका वा अन्य सरकारबाट अनुमति लिएको वा नलिएको वा लिएको भए त्यसको कागजात,सामुदायिक उत्तरदायित्व रकम सम्झौतासंग सम्वन्धित कागजात र भुक्तानी भएको भए सोको विवरण तथा आयोजनाको बिस्तृत परियोजना प्रतिबेदन(डिपिआर),इआई र आईईएको एक–एक प्रति प्रतिबेदन सम्वन्धित जलविद्युत आयोजनाले पालिकामा बुझाउनुपर्ने छ ।
पालिका अध्यक्ष लिम्बूले ‘जलस्रोतको हिसाव–जनतासामु’भन्दै सार्वजनिक सम्पत्तिमा अपारदर्शीता स्वीकार्य नभएको दावी गर्नु भएको छ । सामाजिक सञ्जालमा लेख्दै उहाँले फक्ताङलुङको जल,जमिन र प्राकृतिक स्रोत केहि सिमित व्यक्ति वा संस्थाको मात्र सरोकार नभई यहाँका नागरिकको साझा सम्पत्ति,अधिकार र भविष्य हो’भनेर लेख्नु भएको छ ।