फक्ताङलुङका तीनवडाका १५४ शिक्षकलाई रिडद्धारा शैक्षिक तथा शिक्षण सामग्री निर्माण सम्वन्धी तालिम दिन सुरु
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस २४ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाका तीनवटा वडाका १ सय ५४ शिक्षकहरुका लागि रिड नेपालले बिहीबारबाट शैक्षिक तथा शिक्षण सामग्री निर्माण सम्वन्धी तालिम सुरु गरेको छ ।
तालिम ७ दिन सम्म चल्ने छ । फक्ताङलुङ गाउँपालिकाका वडा नं १ सावादिन,वडा नं २ खेजेनिम र वडा नं ३ लिङखिमका बिद्यालयहरुमा कार्यरत शिक्षकहरुका लागि संयुक्त रुपमा तालिम आयोजना गरिएको रिड नेपालका ताप्लेजुङ प्रवन्धक राजेन्द्रप्रसाद पन्तले जानकारी दिनुभयो । फक्ताङलुङ गाउँपालिकाका तीनवटा रिड नेपालको भर्खरै कार्यक्षेत्र बिस्तार हुँदा रिडको कार्यक्षेत्रमा समेटिएका हुन् । कार्यक्षेत्रमा बिस्तार भएपछि सेवा क्षेत्रका शिक्षकहरुका लागि पहिलोपटक यस्तो तालिमको आयोजना गरिएको रिड नेपालका शिक्षा विकास अधिकृत अमृता थलङले जानकारी दिनुभयो । गुणस्तरीय सिकाई,वालमैत्री शिक्षा सहितका क्षेत्रमा काम गर्दै आइरहेको रिड नेपालले यसबर्ष मात्र फक्ताङलुङ गाउँपालिकाका सावादिन,खेजेनिम र लिङखिममा कार्यक्षेत्र बिस्तार गरेको हो । कार्यक्षेत्र बिस्तार हुनुभन्दा अघि रिड नेपालले फक्ताङलुङ गाउँपालिकाको वडा नं ४ इखाबु,वडा नं ५ तापेथोक,वडा नं ६ लेलेप र वडा नं ७ ओलाङचुङगोला तथा सिरिजङ्गा गाउँपालिकाको वडा नं ८ याम्फुदिन,७ खेवाङ र ६ मामाङ्खेका बिद्यालयहरुमा काम गर्दै आएको थियो ।
रिड नेपाल ताप्लेजुङका बरिष्ठ फिल्ड अधिकृत अंक बुढाका अनुसार रिडको कार्यक्षेत्रमा पहिलोपटक समावेश भएका बिद्यालयहरुका शिक्षकहरुमा कक्षाकोठामा शिक्षण सामग्री बनाउने र प्रयोगलाई अनिवार्य बनाउन सहजीकरण हुने छ । तालिमको उद्घाटन गर्दै फक्ताङलुङ गाउँपालिका शिक्षा समितिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले समाज बदल्न पहिला आफु बद्लिनु अनिवार्य रहेको बताउँदै अब सिकाई सुधारका लागि शिक्षकहरुको पेशागत दक्षतालाई बदलेर तालिमबाट प्राप्त सीपलाई कक्षा कोठामा पुर्याउने विश्वास लिनुभयो । शिक्षकहरुको दक्षता अभिबृद्धिका लागि यस्ता तालिम कामयावी हुने बताउँदै पालिका अध्यक्ष लिम्बूले सिकाईमा लगनशीलता र सिकेको सीपलाई कक्षा कोठासम्म पुर्याउने दायित्व प्रशिक्षार्थी शिक्षकको हुने बताउनुभयो । पालिका उपाध्यक्ष रवीन साम्रा(विकास)ले रिड नेपालले ताप्लेजुङको शिक्षा क्षेत्रमा गर्दै आएको लगानी र मेहनेतको प्रसंशा गर्नुभयो । उहाँले सिकेको सीप बिद्यार्थीको शैक्षिक रुपान्तरणमा प्रयोग हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा फक्ताङलुङ गाउँपालिका वडा नं १ का वडाध्यक्ष यज्ञप्रसाद लिम्बू,वडा नं २ का वडाध्यक्ष भूपेन्द्र चौलागाँई,वडा नं ३ का वडाध्यक्ष आईतराम लिम्बू,सिँवा मावि व्यवस्थापन समितिका अध्यक्ष मचिन्द्र लिम्बू,प्रधानाध्यापक ओमनाथ गौतम,पत्रकार महासंघ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य सहितले रिड नेपालले शिक्षा क्षेत्रको विकास र उन्नयनका लागि गर्दै आएको भूमिका र तालिमको महत्व बारे प्रकाश पार्नु भएको थियो । हिमालयन् ट्रष्ट युकेको आर्थिक सहयोगमा फक्ताङलुङ गाउँपालिकासंग समन्वय गरेर रिड नेपालले ताप्लेजुङको उत्तरी दुर्गम क्षेत्रका बिद्यालयहरुमा सीप विकास,पूर्वाधार विकास र दक्षता विकासका कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । उसले कार्यक्षेत्रमा अब्बल र उत्कृष्ट बिद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि छात्रबृत्ति समेत प्रदान गर्दै आइरहेको छ ।