शैक्षिक नतिजा सुधार्न सिदिङवाको पहल,बिद्यार्थी–शिक्षक सम्मान देखि भ्रमणसम्मको अवसर,अनुदान पर्याप्त

खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस १८ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले शैक्षिक नतिजा तथा शैक्षिक गतिविधिको उचित कार्यान्वयनका आधारमा बिद्यालयलाई अनुदान देखि १० उत्कृष्ट शिक्षकलाई शैक्षिक भ्रमण सम्मको कार्यक्रम अघि सारेको छ ।

पालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीका अनुसारका अनुसार शैक्षिक गुणस्तर अभिबृद्धिका लागि अनुदान दिने देखि शिक्षक र बिद्यार्थीलाई पुरस्कृत र सम्मानका कार्यक्रम अघि सारिएको हो । अधिकारीका अनुसार चालु आर्थिक बर्ष २०८२।८३ को नीतिगत व्यवस्था तथा स्वीकृत बार्षिक कार्यक्रम अनुसार शैक्षिक गुणस्तर सुधारलाई प्रेरित गर्न यि कार्यक्रम कार्यान्वयनमा जानेछन् । पालिकाले प्रत्येक बिद्यालयका महिनाका सर्बोकृष्ट बिद्यार्थीलाई वृहत्त शब्दकोष,सामान्यज्ञान र बिद्यालय पोशाक सेट प्रदान गरिने छ । प्रत्येक बिद्यालयका प्रत्येक कक्षाका महिना उत्कृष्ट बिद्यार्थीलाई शैक्षिक सामग्री सहित पुरस्कृत गरिने भएको छ । कक्षा ५ सम्म पढाई हुने विद्यालयले गाउँपालिकाले बिद्यार्थीको क्षमता विकासका लागि तयार पारेको अभ्यास पुस्तिकाको कार्यान्वयन गरेवापत बिद्यार्थी संख्याका आधारमा कम्तिमा २५ हजार देखि बढीमा १ लाख रुपैयाँसम्म अनुदान पाउने भएका छन् । पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीका अनुसार महिनामा कम्तिमा ५ वटा आन्तरिक अभ्यास परीक्षा,४ वटा लेखन,हाजिरी जवाफ प्रतियोगिता,हिज्जे,हिसाव दौड,पेन्टिङ,वक्तृत्वकला,नृत्य,गायन लगायतका कार्यक्रमको कार्यतालिका बनाई पालिकाबाट स्वीकृत गरी कार्यान्वयन गरेमा अनुदानको व्यवस्था गरिएको छ ।

पुस २० गतेबाट यस शैक्षिक सत्रमा अढाई महिना र बैशाखबाट असारसम्म डेढ महिना गरी ४ कार्य महिनाका आधारमा बिद्यालयलाई अनुदान दिइने छ । यस्तो अनुदान २० जना भन्दा कम बिद्यार्थी हुने बिद्यालयले २५ हजार,२० जना भन्दा माथि र ५० जना भन्दा कम बिद्यार्थी हुने बिद्यालयले ३५ हजार,५० जना भन्दा माथि १ सय जना भन्दा कम बिद्यार्थी हुने बिद्यालयलाई ५० हजार,१ सय भन्दा बढी र १ सय ५० भन्दा कम बिद्यार्थी हुनेलाई ७० हजार र १ सय ५० भन्दा बढी बिद्यार्थी हुनेलाई १ लाख रुपैयाँसम्म अनुदान दिने पालिकाले जनाएको छ । पालिकाले प्रत्येक बिद्यालयले मासिक रुपमा सूचक बनाएर उत्कृष्ट शिक्षक घोषणा गर्नुपर्ने र उत्कृष्ट शिक्षकलाई एक दिन बराबरको तलवले पुरस्कृत गर्ने जनाएको छ । उत्कृष्ट शिक्षकले तोकिएको न्यूनतम् अंक भने ल्याएको हुनुपर्ने छ । उत्कृष्ट शिक्षकमध्येबाट १० जनालाई चालु आर्थिक बर्षमै एक हप्ताको शैक्षिक भ्रमणको अवसर प्रदान गर्ने पालिकाले जनाएको छ । पालिकाले कक्षा ८ को परीक्षामा सर्बोत्कृष्ट नतिजा ल्याउने छात्र–छात्रालाई जनही नगद १०–१० हजार रुपैयाँ नगद सहित पुरस्कृत गरिने भएको छ ।

कम्तिमा ४० प्रतिशत बिद्यार्थी उर्तीण गराउने बिद्यालयमध्येबाट प्रथमलाई १ थान स्मार्ट बोर्ड र दोस्रो हुनेलाई १ थान ल्यापटप दिइने पालिकाले जनाएको छ । एसईईमा कम्तिमा ३० प्रतिशत नियमित विद्यार्थी सफल गराउने बिद्यालयलाई २ थानका दरले स्मार्टबोर्ड र १ लाख रुपैयाँका दरले अनुदान दिइने भएको छ । एसईईमा अंग्रेजी,गणित,सामाजिक र विज्ञान बिषयमा कम्तिमा ३० प्रतिशत बिद्यार्थी उर्तीण भएमा बिषय शिक्षकलाई एक महिना बराबरको तलवले सम्मान तथा सर्बोकृष्ट हुने बिद्यार्थीलाई एक थान ल्यापटप प्रदान गरिने भएको छ । कक्षा ११ र १२ मा शिक्षा संकायतर्फ गणित बिषयमा पालिकाका बिद्यालयमा अध्ययन गर्ने नियमित बिद्यार्थीहरुलाई बार्षिक २० हजार रुपैयाँका दरले छात्रबृत्ति प्रदान गरिने समेत पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

Similar Posts