|

साथीभाइले जित्यो स्व. पदमबहादुर गुरुङ स्मृति कप

-उज्यालो पोष्ट
ताप्लेजुङ, पुस १५ । तमु ल्होसारको अवसरमा ताप्लेजुङमा आयोजित दोस्रो स्वर्गीय पदमबहादुर गुरुङ स्मृति कप फुटबल प्रतियोगिताको उपाधि साथीभाइ स्पोर्टिङ क्लबले जितेको छ । मंगलबार भएको फाइनलमा आयोजक ‘बि’ लाई ३–० गोलले पराजित गर्दै साथीभाइले उपाधि जितेको हो ।
तमु ल्होसार मूल आयोजक समिति तथा ताप्लेजुङ स्पोर्टिङ क्लबले प्रतियोगिता आयोजना गरेको हो । उपाधि जितसँगै साथीभाइ स्पोर्टिङ क्लबले एक लाख १५ हजार रुपियाँ नगद पुरस्कारसहित ट्रफी, पदक र प्रमाणपत्र पाएको छ । उपविजेता बनेको आयोजकले ५५ हजार रुपियाँ नगदसहित ट्रफी, पदक र प्रमाणपत्रमा चित्त बुझाउनुपरेको छ ।
सोमबार भएको सेमिफाइनलमा नेपाल प्रहरी क्लब ताप्लेजुङलाई पराजित गर्दैै साथीभाइ स्पोर्टिङ क्लब फाइनल पुगेको थियो । त्यस्तै गोर्खाली स्पोर्टिङ क्लबलाई पराजित गर्दै आयोजक ‘बि’ फाइनलमा पुगेको थियो ।
यता उपाधि विजता टोलीलाई फुङ्लिङ नगरपालिकाका प्रमुख अमिर मादेन, उपप्रमुख भीमादेवी ओझा लगायतले पुरस्कार राशि तथा ट्रफी, पदक र प्रमाणपत्र वितरण गर्नुभएको थियो । आयोजक ताप्लेजुङ स्पोर्टिङ क्लबका अध्यष मणिराज गुरुङका अनुसार प्रतियोगितामा आयोजकको दुई टोली गरी १४ टोली (टिम) सहभागी भएका थिए ।
प्रतियोगिता सदरमुकाम फुङ्लिङ बजारनजिक वडा नम्बर ६ लक्ष्मीटारमा खेलाइएको थियो । प्रतियोगिताको फाइनलसँगै मंगलबार तमु ल्होसारको अवसरमा सांस्कृतिक ¥याली, शुभकामना आदानप्रदान सहितका कार्यक्रम आयोजना गरिएको निङ्मा छ्योखोरलिङ बौद्ध गुम्बा व्यवस्थापन समितिका अध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

Similar Posts