गाउँमै प्राङगारिक मल उत्पादन गर्दै सिरिजङ्गा
खगेन्द्र अधिकारी
ताप्लेजुङ,पुस ५ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिकामै प्राङगारिक मल उत्पादनका लागि किसानलाई सूचीकरण हुन आग्रह गरेको छ ।
पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङदेम्बेका अनुसार कोशी प्रदेश सरकारको प्रदेश सर्शत अनुदानबाट पालिकामा प्राप्त भएको ‘प्राङगारिक खेति प्रवद्र्धनका लागि प्राङगारिक(जैविक)जिवाणु मल प्रयोगमा प्रोत्साहन’कार्यक्रम कार्यान्वयन गर्दै पालिकाले प्राङगारिक मल उत्पादनका लागि किसानलाई सूचीकरण आवह्वान गरेको हो । यसका लागि १० लाख रुपैयाँ बजेट रहेको पालिकाले जनाएको छ । मल नेपाल सरकारले तोके अनुसारको गुणस्तर कायम भएको हुनुपर्ने पालिकाको सर्त छ ।
प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेका अनुसार सूचिकृत मल उत्पादकहरुबाट पालिकाको कृषि विकास शाखाको सिफारिस बमोजिम मल खरिद गरेवापत मल उत्पादकलाई प्रतिकिलो वा प्रतिलिटर १० रुपैयाँका दरले नगद अनुदान उपलब्ध गराउने छ । मल उत्पादक सूचीकरणका लागि आबेदनका साथ सम्वन्धित वडा कार्यालयको सिफारिस,नविकरण समेत भएको संस्था दर्ता प्रमाणपत्रको प्रतिलिपि,सम्पत्ति करचुक्ता प्रमाणपत्रको प्रतिलिपि,समूह वा समितिको हकमा निर्णयको प्रतिलिपि,लेखा परीक्षण प्रतिबेदन,स्थायी लेखा नम्बर दर्ता प्रमाणपत्रको प्रतिलिपि,कर चुक्ता प्रमाणपत्रको प्रतिलिपि र नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि समावेश हुनुपर्ने पालिकाले जनाएको छ ।