प्रतिनिधिसभा निर्वाचन: मतदाता नामावलीमा त्रुटी सच्याउने देखि नामावलीको बिरोधमा उजुरी दिनेसम्मको तालिका तय
खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २१ । निर्वाचन आयोगले मतदाता नामावलीमा रहेको त्रुटी सच्याउने देखि मतदाता नामावलीको बिरोधमा उजुरी दिनसम्मको कार्यतालिका कार्यान्वयन गर्न देशभरका जिल्ला निर्वाचन कार्यालयलाई परिपत्र गरेको छ ।
जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका सूचना अधिकारी वान्दवराज(विपिन)दुलालका अनुसार मतदाता नामावलीमा त्रुटी सच्याउन,कसैले झुठा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए सोको बिरोधमा उजुरी दिन,कुनै मतदाताको नाम एक भन्दा बढी स्थानमा समावेश भएको भए एक स्थानमा मात्र कायम गर्न निबेदन दिन,मृत्यु भएका वा त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउन सूचना दिन मंसिर २६ गतेसम्मको समय आयोगले दिएको छ । यस्तै वडा कार्यालयबाट प्राप्त भएका निबेदन दर्ता गर्ने,बसाई सरी अन्यत्र गएका वा मृत्यु भएका मतदाताको विवरण स्थानीय पञ्जीकाधिकारीबाट र नागरिकता त्याग गरेका मतदाताको विवरण सम्वन्धित जिल्ला प्रशासन कार्यालयबाट प्राप्त गर्ने र सूचना वा निबेदन प्राप्त नभएतापनि कुनै मतदाता बसाँई सरी गएको,मृत्यु भएको,नागरिकता त्याग वा रद्ध भएको प्रमाणित विवरण प्राप्त गर्ने अवधि पनि मंसिर २६ सम्मलाई निर्धारण गरिएको छ ।
मंसिर २९ गतेसम्ममा उजुरी परेका मतदातालाई प्रमाणसहित सफाईको मौका दिने,मंसिर २९ देखि पुस २ गतेसम्म मतदाता नामावलीबाट हटाउने सम्वन्धमा आवश्यक छानबिन गरी प्रमुख नाम दर्ता अधिकारीले त्रुटी सच्याउने,नाम हटाउने लगायत कानुन बमोजिम निर्णय गर्ने कार्यतालिका निर्वाचन आयोगले ल्याएको छ । पुस ३ देखि ६ गतेसम्म नाम हटाईएको सूचना जिल्ला निर्वाचन कार्यालय र सम्वन्धित वडा कार्यालयमा प्रकाशित गर्ने र फरक–फरक जिल्लामा दोहोरो नाम परेको सम्वन्धमा निबेदन प्राप्त भए सोको छुट्टै विवरण तयार गरी जिल्लामा अद्यावधिक भएको अभिलेखसंगै निर्वाचन आयोगमा पठाउने गरी आयोगले कार्यतालिका प्रकाशित गरेको छ ।