‘पारिवारिक सम्मान,सूचना प्रविधिको सहि सदुपयोग र सचेतना अभिबृद्धिबाट लैंगिक हिंसा अन्त्य’

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर २१ । पारिवारिक सम्मानको वातावरण,सूचना र प्रविधिको सहि सदुपयोग र सचेतना अभिबृद्धिमा ध्यान दिने हो भने घरेलु हिंसारहित समाज बनाउन सकिने निश्कर्ष ताप्लेजुङका सरोकारवालाले निकालेका छन् ।

फुङलिङ नगरपालिकाको आयोजना र पत्रकार महासंघ ताप्लेजुङको सहजीकरणमा आइतवार फुङलिङमा भएको अन्तरक्रिया कार्यक्रममा घरेलु हिंसा निवारणका लागि बिद्यालय तहबाटै नैतिक तथा पारिवारिक शिक्षालाई जोड्नुपर्ने आवाज समेत उठेको पत्रकार महासंघ ताप्लेजुङका उपाध्यक्ष संगिता कार्कीले जानकारी दिनुभयो । कार्यक्रममा फुङलिङ नगर उपप्रमुख भीमादेवी ओझाले घरेलु हिसाँ निवारणका लागि नगरपालिकाले चलाएको जागरणका अभियानबाट हिंसाबिरुद्ध कानुनी उपाय खोज्न पीडितहरु अग्रसर हुन थालेको बताउनुभयो । ओझाले संख्याको हिसावले हिंसाका घटनामा बृद्धि भएको जस्तो देखिएपनि सुरुमा पीडितहरुले पींडा दबाएर राख्ने गरेको पछिल्ला दिनहरुमा हिंसा बिरुद्ध कानुनी लडाईका लागि अग्रसर हुन थालेको दलिल पेश गर्नुभयो ।

नगर उपप्रमुख ओझाले न्यायिक समितिकातर्फबाट घरेलु हिंसा बिरुद्ध कानुनी जागरणका कार्यक्रम समेत अघि बढाउने जानकारी दिनुभयो । उहाँले घरेलु हिंसा निवारणका लागि पारिवारिक वातावरण,गरिवी र विपन्नताको अन्त्य र पारिवारिक सम्मान महत्वपूर्ण हुने बताउँदै यसका लागि विद्यालय तहबाटै नैतिक तथा पारिवारिक शिक्षालाई जोड्न सक्नुपर्ने बताउनुभयो । नगरपालिकाले निर्माण गर्ने स्थानीय पाठ्यक्रममा नैतिक शिक्षा प्रेरित पाठ्य सामग्रीसमेत समावेश गर्ने बिषयमा आफ्नो पहलकदमी हुने उहाँको भनाई थियो ।

प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले कानुनी र पैरवीको दाहेरा अघि बढाउने जिम्मेवारी पाएका निकाय तथा व्यक्तिहरु हिंसा निवारणका काममा सक्रिय हुनुपर्ने बताउनुभयो । सरकारले सामाजिक संघसंस्था समेतको सहयोगमा प्रत्येक घरभित्र हुनुपर्ने पारिवारिक वातावरण र पारिवारिक मिलनका आधारहरुका बारेमा समुदाय सचेतना प्रवाह गर्नुपर्ने उहाँले बताउनुभयो । हिंसाबाट पीडित भएकाहरुलाई न्यायको कानुनी लडाँईका लागि आफुहरु अग्रसर हुने भएपनि सचेतना अभिबृद्धिमा समेत ध्यान दिएको प्रजिअ सेढाईँको भनाई थियो ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक न्यायधिवक्ता मदन न्यौपानेका अनुसार हिंसाको स्वरुप र प्रकृति अनुसार पछिल्लो एकबर्ष भित्र सरकारवादी भएका मुद्दाहरुको अभियोजन जिल्ला सरकारी वकिल कार्यालयले गर्नु परेको छैन । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी जटाशंकर यादवका अनुसार चालु आर्थिक बर्ष २०८२।८३ को मंसिर दोस्रो सातासम्ममा घरेलु हिंसा सम्वन्धी ४० वटा घटना प्रहरीमा दर्ता भएका छन् । अघिल्लो आवभरीमा ५२ वटा यस्ता घटनाको उजुरी प्रहरीकोमा परेको भन्दै यादवले हिंसाका घटनाको ग्राफ उकालो अवस्थामा रहने अनुमान गर्नु भएको छ । हिंसामा परेको मौखिम उजुरीका आधारमा समेत प्रहरीले पीडितको उद्धार र पीडकलाई नियन्त्रणमा लिने गरेको भन्दै यादवले हिंसा खेपेर बस्ने नभई कानुनी दाहेरामा ल्याउने कार्यमा सहयोग गर्न आग्रह गर्नुभयो ।

पत्रकार महासंघका केन्द्रीय सदस्य माला पालुङ्वाले पीडकलाई दबाब र प्रभावमा उन्मुक्ति दिन नहुनेमा जोड दिदैं पारिवारिक वातावरण निर्माणका लागि समाजको सचेत वर्गले समाजका सदस्यहरुलाई अनुशिक्षित गर्नुपर्ने बताउनुभयो । हिंसाका घटनामा संलग्नहरुलाई कानुनी दाहेरामा ल्याईसकेपछि उसलाई कानुनी दाहेराबाट बाहिर ल्याउन दबाब नदिन समेत उहाँको आग्रह छ । मादक पदार्थ र लागु पदार्थको सेवन गर्ने,घरमा पुगेर झैझगडा गर्ने जस्ता घटनाले घरेलु हिंसाका घटना बढाएको अवस्था चित्रण गर्दै प्रमुख जिल्ला अधिकारी सेढाईँले प्रहरी प्रशासन यस्ता गलत हर्कत बिरुद्ध दबाब र प्रभावहिन ढंगले काम गर्दै आएको बताउनुभयो ।

जिल्ला प्रहरी प्रवक्ता यादवले प्राय पुरुषबाट हिंसा हुने गरेको भएपनि लैंगिक हिंसाका सवालमा पुरुषमात्र दोषी नभई महिला पनि दोषी रहेको अवस्था तथ्याङ्कले देखाउने बताउनुभयो । घरपरिवारका प्रत्येक सदस्यले एकअर्कालाई सम्मान गर्ने र ठूलालाई आदर र सानालाई माया गर्ने सद्भावमात्र अंगाल्ने हो भने लैंगिक हिंसा निवारणमा ठूलो टेवा पुग्ने प्रजिअ सेढाईँको भनाई छ । लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको १३ औं दिनका लागि फुङलिङ नगरपालिकाले सरोकारवालासंग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो । यसबर्षको लैंगिक हिंसा बिरुद्धको १६ दिने अभियानको नारा‘प्रविधिको सहि प्रयोग गरौं,लैंगिक हिंसा अन्त्य गरौं’रहेको छ । अभियान यही २४ गते समापन हुँदैछ ।

Similar Posts