एकताको सन्देश दिदैं ताप्लेजुङबाट सर्वसहमतिमा छानिए एमाले महाधिबेशन प्रतिनिधि

उज्यालो पोष्ट
ताप्लेजुङ,मंसिर १२ । नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिबेशनमा ताप्लेजुङबाट जाने १२ जना प्रतिनिधि सर्वसम्मत रुपले चयन भएका छन् ।

पार्टीलाई एकीकृत,संगठित र कार्यकर्ताको भावना अनुसार अग्रसर गराउन सबै किसिमका त्याग सहित सहमतिमा प्रतिनिधि चयन गरिएको भन्दै शुक्रवार अपरान्ह निर्वाचन समितिले सहमतिको नाम सार्वजनिक गरेको छ । निर्वाचन समितिका संयोजक एवम् नेकपा एमाले कोशी प्रदेश कमिटीका सदस्य राजकुमार चुडाँलका अनुसार खुल्ला ६ पदतर्फ अनन्त साँवा,घनेन्द्र मादेन,दीपेन्द्र पोमू,प्रकाश राई(कैलास),छत्रपति प्याकुरेल र ज्ञानेन्द्र लावती महाधिबेशन प्रतिनिधि चयन हुनु भएको छ । महिलातर्फ टीका सुबेदी भट्टराई,रनमाया गुरुङ,प्रमिला खनाल घिमिरे र मिना केदेम,दलिततर्फ बुद्धिमान परियार र युवातर्फ गोपाल न्यौपाने सर्वसम्मत चयन भएको चुडाँलले बताउनुभयो । खुल्लातर्फ सुरुमा २२ जनाको उम्मेदवारी परेको थियो । महिलामा ८,युवामा ६ र दलितमा ३ जनाको उम्मेदवारी परेको थियो ।

सहमति कायम गराएर ताप्लेजुङका आम नेता तथा कार्यकर्तामाझ सकारात्मक सन्देश प्रवाह भएको भन्दै एमाले पोलिटब्युरो सदस्य तथा पार्टी जिल्ला इञ्चार्ज तिलकुमार मेन्याङ्वोले प्रसन्नता व्यक्त गर्नुभयो । सहमति खोज्नका लागि बनाईएको कार्यदलका अर्का सदस्य पूर्व जिल्ला कमिटी अध्यक्ष बलबहादुर साम्सोहाङले ताप्लेजुङमा एमाले सुद्रिढ बनाउन तथा एकीकृत र बलियो संगठनको रुपमा कायम गर्न सहमति जुट्न सकेको भन्दै पार्टी हितका लागि यो कदम हुने बताउनुभयो । एमाले ताप्लेजुङका कार्यवाहक अध्यक्ष दीपेन्द्र पोमूले आम पार्टी कार्यकर्ताको मनोभावनाको समेत सम्मान हुनेगरी सर्वसम्मतिमा प्रतिनिधि चयन हुन सकेकोमा सबैलाई धन्यवाद दिदैं यसका लागि त्याग गर्ने सबै पार्टी कार्यकर्तालाई पार्टी जिल्ला कमिटीले बिशेष रुपमा हेरेको बताउनुभयो ।

Similar Posts