याम्फुदिनको तुप्लुङमा होमस्टे सञ्चालन गर्दै सिरिजंगा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,मंसिर ९ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकाले पालिकाको वडा नं ८ याम्फुदिनको तुप्लुङमा होमस्टे सञ्चालन गर्ने भएको छ ।

चालु आर्थिक बर्ष २०८२।८३ को बार्षिक स्वीकृत कार्यक्रम अनुसार होमस्टे समन्वय समितिको सिफारिस तथा कार्यपालिकाको निर्णय बमोजिम तुप्लुङमा होमस्टे सञ्चालन गर्ने गरी प्रकृया अघि बढाईएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङदेम्बेले जानकारी दिनुभयो । उहाँका अनुसार लाभ प्राप्तिका लागि होमस्टे सञ्चालन गरिरहेका वा होमस्टे सञ्चालन गर्न इच्छुकहरुले पालिकामा आबेदन दिनुपर्ने हुन्छ । सिरिजङ्गा गाउँपालिकाले होमस्टे सञ्चालन कार्यविधि २०८० को दफा ६ को उपदफा १ अनुसार इच्छुक लाभग्राहरुलाई अनुदानमा होमस्टे स्थापना तथा सञ्चालनका लागि आवह्वान गरेको हो ।

प्रमुख प्रशासकीय अधिकृत आङदेम्बेका अनुसार वातावरणीय रुपले हानी नोक्सानी नहुने भनी तयार भएको मुचुल्का,होमस्टे सञ्चालन हुने क्षेत्र सार्वजनिक वन क्षेत्र भए सम्वन्धित सामुदायिक वन उपभोक्ता समूहको अनुमति,आफ्नै स्वामित्वको जग्गा भए जग्गाधनी पूर्जा तथा भाडामा लिएको भए सम्झौताको प्रमाणित प्रतिलिपि सहित वडा कार्यालयको सिफारिस समेत संलग्न राखी आबेदन दिनुपर्ने हुन्छ । याम्फुदिन पर्यटकीय क्षेत्रको रुपमा परिचित छ । यही पर्यटकीय क्षेत्रमा होमस्टे सञ्चालनका लागि पालिकाले तुप्लुङ क्षेत्र रोजेको हो । कञ्चनजंघा आधार शिविर जाने एक मार्ग याम्फुदिन हुँदै जाने भएकोले त्यहाँ होमस्टे सञ्चालन गर्न उपयुक्त हुने ठहर पालिकाको छ । गाउँपालिकाले ‘सिरिजङ्गाको गौरव, कञ्चनजंघा’भन्ने नारालाई आफ्नो मूल नारा समेत बनाएको छ ।

 

Similar Posts