ताप्लेजुङमा खाद्यले ५ सय क्विन्टल चामल बिक्री नभईञ्जेलसम्म मूल्यमा छुट दिइरहने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक १६ । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखा कार्यालयले ५ सय क्विन्टल चामल बिक्री नभईञ्जेलसम्मका लागि छुट सहितको मूल्यलाई कायम राख्ने भएको छ ।

कार्यालयका सूचना अधिकारी जलान्धरप्रसाद यादवका अनुसार आइतवारसम्ममा ३ सय १९ क्विन्टल चामल छुट सहितको मूल्यमा बिक्री भइसकेको छ । अब बाँकी १ सय ८१ क्विन्टल चामल बिक्री भईञ्जेलसम्म सुपथ मूल्यको छुट बजार कायम रहने यादवले जानकारी दिनुभयो । ५ सय क्विन्टल चामल छुट सहितमा बिक्री भइसकेपछि कार्यालयले फेरि साविक मूल्यमै चामल बिक्री गर्ने यादवले बताउनुभयो । कार्यालयले अहिलेसम्म सोना मन्सुली १ सय २० क्विन्टल बिक्री गर्दा ६० हजार रुपैयाँ छुट दिएको छ । यादवका अनुसार कूल ७ लाख ६८ हजार मूल्य बराबरको चामल बिक्री गर्दा ६० हजार छुट दिई ७ लाख ८ हजार रुपैयाँ आम्दानी बाँधिएकोे छ ।

उता १ सय ९९ क्विन्टल स्टिम जिरा बिक्री गर्दा १७ लाख ९१ हजार ५ सय रुपैयाँ हुनुपर्नेमा ९९ हजार ५ सय रुपैयाँ छुुट दिई १६ लाख ९१ हजार ५ सय रुपैयाँ आम्दानी बाँधिएको खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडको ताप्लेजुङ शाखा कार्यालयले जनाएको छ । कार्यालयले स्टिम जिरा मसिनो चामल ९ हजार रुपैयाँ प्रति क्विन्टल र सोना मन्सुली चामल ६ हजार ४ सय रुपैयाँ प्रति क्विन्टलमा बिक्री गर्दै आएको छ ।

छुट सहितको सुपथ मूल्य बजार कायम हुँदा दुबै प्रकृतिका चामलमा प्रति क्विन्टल ५ सय रुपैयाँ छुट दिएर बिक्री हुन्छ । खाद्य व्यवस्था तथा व्यपार कम्पनी लिमिटेडले चाडपर्व लक्षित सुपथ मूल्य बजारमा छुट सहितको मूल्य सार्वजनिक गरेको थियो । कार्यालयले आव २०८१।८२ मा कुल १ करोड ५५ लाख ८७ हजार ४ सय ५० रुपैयाँको चामल बिक्री गरेको बताएको छ ।

Similar Posts