राष्ट्रिय परिचयपत्रको रुजु फारम हराई खोजीका लागि ताप्लेजुङमा चालु आवमा करिव ५ सय दिए आबेदन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,कात्तिक ३ । चालु आर्थिक बर्ष २०८२।८३ को असोज मसान्तसम्ममा करिव ५ सय जनाले राष्ट्रिय परिचयपत्रको रुजु फारम हराई खोजीका लागि आबेदन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रिय परिचयपत्रको विवरण सच्याउनका लागि भने ८० जनाले आबेदन गरेका छन् । प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँका अनुसार चालु आवको असोज महिनामा ९८ जनाले राष्ट्रिय परिचयपत्रको रुजु फारम हराएको भन्दै खोजीका लागि आबेदन गरेका छन् । चालु आवमा राष्ट्रिय परिचयपत्रको रुजु फारम हराएको भन्दै खोजीका लागि आबेदन दिनेको संख्या ४ सय ९१ रहेको प्रशासन कार्यालयले जनाएको छ ।

असोज महिनामा मात्र २५ जनाले राष्ट्रिय परिचयपत्रको विवरण सच्याउनका लागि आबेदन दिएका छन् । असोज मसान्तसम्म्मा २ हजार ७६७ जनाले राष्ट्रिय परिचयपत्रमा आफ्नो विवरण दर्ता गराएको प्रशासन कार्यालयले जनाएको छ । असोज महिनामा ५ सय १७ जनाले राष्ट्रिय परिचयपत्रमा आफ्नो विवरण दर्ता गराएका छन् । प्रशासन कार्यालयले चालु आवमा १ सय ८५ थान राष्ट्रिय परिचयपत्र कार्ड बितरण गरेको छ ।

चालु आवमा नागरिकता लिने भन्दा प्रतिलिपि लिनेको संख्या बढी रहेको छ । चालु आवको असोज महिनासम्ममा ७ सय ५४ थान नागरिकताको प्रतिलिपि जारी हुँदा नागरिकता लिनेको संख्या भने ७ सय ४ मात्र रहेको प्रमुख जिल्ला अधिकारी सेढाईँले जानकारी दिनुभयो । चालु आवमा जन्मको सन्तानलाई वंशजको नागरिकता,वैबाहिक अंगीकृत नागरिकता र गैर आवासीय नेपाली नागरिकता भने जारी भएको छैन । द्रुत र साधारण गरी प्रशासन कार्यालयले चालु आवको असोज मसान्तसम्ममा ६ सय २४ थान राहदानीको सिफारिस गरेको छ भने ५ सय ६८ थान राहदानी बितरण गरेको छ । प्रशासन कार्यालयले १ सय ९३ वटा राहदानीको अनलाइन फारम निःशुल्क भरिदिएको छ ।

असोज महिनामा प्रशासन कार्यालयको नागरिक सहायता केन्द्रबाट २ सय ७ जना सेवाग्राहीलाई कार्यालय प्रयोजनमा प्रयोग हुने बिभिन्न किसिमका कागजातहरुको प्रतिलिपि निःशुल्क उपलब्ध गराउने सेवा प्रदान भएको प्रशासन कार्यालयले जनाएको छ । चालु आर्थिक बर्षमा प्रशासन कार्यालयमा भ्रष्टाचार,नाफाखोरी र अन्य मुद्दा दर्ता भएनन् भने अभद्र व्यवहारका ८ वटा मुद्दा दर्ता भएकोमा ४ वटालाई किनारा लगाईएको समेत प्रशासन कार्यालयले जनाएको छ ।

Similar Posts