१२८ मेगावाट क्षमताको तमोर–मेवाका लागि वित्तीय स्रोत सुनिश्चित,साढे ३ बर्षमा बिद्युत उत्पादन हुने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज २४ । वित्तीय स्रोत व्यवस्थापन सुनिश्चित भएसंगै बहुप्रतिक्षित १२८ मेगावाट क्षमताको तमोर–मेवा जलविद्युत आयोजना निर्माणले गति पाउने भएको छ ।

सिद्धार्थ बैंक लिमिटेडको अगुवाई र माछापुच्छ्रे बैंकको सह अगुवाईमा बिभिन्न बैंकहरुले तमोर–मेवा जलविद्युत आयोजना निर्माणमा लगानी गर्नेगरी सम्झौता भएको तमोर–मेवा जलविद्युत आयोजनाको प्रवद्र्धक संस्था स्पार्क हाईड्रो ईलेक्ट्रिक कम्पनी लिमिटेडका संस्थापक अध्यक्ष भानेन्द्र लिम्बूले जानकारी दिनुभयो । आयोजना निर्माणका लागि २०८१ साल जेठ १० गते शिलान्यास सम्पन्न भई प्राथमिक संरचना निर्माणका कार्य भइरहेका छन् ।

वित्तीय स्रोत व्यवस्थापन सुनिश्चित भएसंगै अब निर्माणका बाँकी कामले तीव्रता पाउने आयोजनास्थलका संयोजक डम्बर लङ्वाले बताउनुभयो । संस्थापक अध्यक्ष लिम्बूका अनुसार आयोजनाको कूल लागत २३ अर्ब ४ करोड अनुमान गरिएको छ । यसमध्ये ७५ प्रतिशत सहवित्तीयकरण प्रणालीमार्फत सम्झौतामा संलग्न बैंकहरुको दीर्घकालिन आयोजना ऋण लगानीवापत संकलन गरिने छ भने बाँकी २५ प्रतिशत स्वपुँजी(ईक्विटी) प्रवद्र्धकमार्फत जुटाइने भएको छ ।

सिद्धार्थ बैंक र माछापुच्छ्रे बाहेक कृषि विकास बैंक लिमिटेड,नेपाल एसबीआई बैंक लिमिटेड,ज्योति विकास बैंक लिमिटेड,आईसिएफसी फाइनान्स लिमिटेड,नेपाल फाइनान्स लिमिटेड र गुडविल फाइनान्स लिमिटेड लगानी साझेदार बैंकको रुपमा रहने भएका छन् । प्रवद्र्धक स्पार्क हाईड्रो ईलेक्ट्रिक कम्पनी लिमिटेडका अध्यक्ष श्रवणकुमार गोयल र लगानीकर्ता बैंककातर्फबाट सिद्धार्थ बैंक लिमिटेडका कर्पोरेट हेडढ अमित अमित श्रेष्ठबिच द्धिपक्षीय सम्झौतापत्रमा हस्ताक्षर भएको स्पार्कका प्रवन्ध निर्देशक सुदीपकुमार चौधरीले जानकारी दिनुभयो । कम्पनीले २०८५ साल असोज २५ गते भित्र बिद्युतको व्यपारिक उत्पादन सुरु गरिसक्ने लक्ष्य लिएको छ । स्पार्कले हालसम्ममा आयोजनाको करिव २५ प्रतिशत भौतिक प्रगति भइसकेको जनाएको छ ।

स्पार्कले २०७७ साल असोज २५ गते विद्युत विकास विभागबाट विद्युत उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ । २०८० साल असोज २४ गते स्पार्कले नेपाल विद्युत प्राधिकरणसंग विद्युत खरिद बिक्री सम्झौता(पिपीए)गरेको थियो । आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दर वर्षायाममा प्रतियुनिट ४.८० रुपैयाँ र सुख्खायाममा प्रतियुनिट ८.४० रुपैयाँ रहेको छ ।यस्तै,आयोजनाबाट उत्पादन हुने विद्युत खरिद बिक्री दरको मूल्यवृद्धि वार्षिक ३ प्रतिशतका दरले ८ पटकसम्म साधारण मूल्य वृद्धि हुनेछ ।

आयोजनाबाट उत्पादन हुने कूल बिद्युतीय उर्जा ७११.४३ गिगावाट घण्टा रहेको छ । आयोजनाबाट वर्षा याममा उत्पादन हुने बिद्युतीय उर्जा क्षमता ६१ करोड ९७ लाख ४० हजार ४ सय २३ किलोवाट घण्टा तथा सुख्खा याममा उत्पादन हुने बिद्युतीय उर्जा क्षमता ९ करोड १६ लाख ९२ हजार ८ सय ७५ किलोवाट घण्टा रहने प्रक्षेपण गरिएको छ । वर्षा यामको अवधि वैशाखदेखि मंसिरसम्म र सुख्खा यामको अवधि पुसदेखि चैत महिनासम्म हुनेछ ।

आयोजनाले वर्षायाममा कुल उत्पादित ऊर्जाको ६० प्रतिशत सुख्खा याममा र ९० प्रतिशत वर्षायाममा उत्पादन गर्नैपर्छ । तमोर–मेवा रन अफ रिनर प्रकृतिको आयोजना हो । ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिका, फुङलिङ नगरपालिकामा,मिक्वाखोला गाउँपालिका र मेरिङदेन गाउँपालिका आयोजनाको प्रभावित क्षेत्र हुनेछन् । तमोर–मेवा मेवाखोला र तमोर नदीको पानी उपयोग गरी करिव ९ किलोमिटर दूरी बराबरको सुरुङ मार्गमार्फत उक्त विद्युत क्षमता उत्पादन गर्न लागिएको हो ।
स्पार्क र प्रमुख वित्तीय साझेदार बैंक सिद्धार्थ बैंकबिच तमोर–मेवा जलविद्युत आयोजनाका लागि द्धिपक्षीय सम्झौता हुँदै ।

Similar Posts