खराव मौसमका कारण कञ्चनजंघा हिंडेका ७ भारतीय सहित ८ जनालाई फुङलिङमै रोकियो

खगेन्द्र अधिकारी
ताप्लेजुङ, असोज १८ । मौसममा आएको खरावीका कारण ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालको आधार शिविर भ्रमणका लागि आएका ७ भारतीय नागरिक सहित ८ जनालाई फुङलिङ बजारमै रोकिएको छ ।
जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज २० गतेसम्म देशका विभिन्न भागमा लगातार भारी वर्षा हुने चेतावनी जारी भएकाले उहाँहरूलाई तत्काल यात्रा नगर्न भनी रोकिएको हो । उहाँहरूलाई फुङलिङ नगरपालिका–२ स्थित होटल ईको भ्यु पोइन्टमा सुरक्षित राखिएको प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँले जानकारी दिनुभयो । उहाँहरूको स्वास्थ्य अवस्था सामान्य रहेको र सुरक्षाका सम्पूर्ण व्यवस्था मिलाइएको समेत प्रजिअ सेढाईँले बताउनुभयो ।
सशस्त्र प्रहरी वल नेपाल नं १ गुल्म हेड क्वाटर कञ्चनजंघाले आफ्नो चेक पोइन्टमा चेकजाँचका क्रममा फेला पारेपछि उनीहरुलाई मौसममा सुधार नआएसम्मका लागि गन्तव्यतर्फ जान नदिई सुरक्षित गरिएको प्रजिअ सेढाईँले बताउनुभयो । उहाँहरु भारतको कलकत्ताबाट कञ्चनजङ्घा बेस क्याम्प भ्रमणका लागि नेपाल आएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।भारी वर्षा हुने चेतावनी जारी भएकाले उहाँहरूलाई तत्काल यात्रा नगरी सुरक्षित स्थानमा राखिएको हो ।
प्रजिअ सेढाईँका अनुसार भारतका अशोक परियार,सुवित बेनेजी,समु मण्डल,सुमन विश्वास,परदिन मण्डल,साटि बेनाजी,अजयकुमार हवल्दार र एकजना गाईड इलाम सन्तपुरका फुतेन्जी शेर्पालाई फुङङिममै रोकिएको हो । मौसम सामान्य भएपछि मात्र उहाँहरुलाई यात्राको अनुमति दिइने जिल्ला प्रशासन ताप्लेजुङले जनाएको छ ।