नागरिक बसोबास भएकै स्थानमा पुगेर सेवा दिदैं ताप्लेजुङको दुर्गम वडाका जनप्रतिनिधि

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ५ । ताप्लेजुङका दुर्गम क्षेत्रका वडाहरुले आफ्नो वडाका स्थायी बसोबासी तर बिभिन्न कारणले उपत्यका सहित देशका बिभिन्न स्थानमा बसोबास गर्दै आएकाहरुलाई स्थलगत रुपमै सेवा दिएका छन् ।

फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोला,मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङ र सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनका वडाध्यक्षहरुले अहिले बसोबास गरिरहेकै क्षेत्रमा पुगेर यस्तो सेवा दिएका हुन् । पछिल्लो पटक सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनले ताप्लेजुङको फुङलिङ,इलाम,झापाको बिर्तामोड,सुनसरीको धरान र काठमाडौंमा रहेका आफ्ना वडाबासीलाई उक्त क्षेत्रमै पुगेर सेवा दिएको छ ।

याम्फुदिनले २२ जनाको सामाजिक सुरक्षा भत्ता नविकरण गरेको,१–१ वटा बिबाह दर्ता र बसाँई सराई,५ वटा जन्मदर्ता,एउटा जन्मदर्ता प्रतिलिपि,२ वटा मृत्यु दर्ता,२ वटा नाता प्रमाणित,१–१ वटा जन्म प्रमाणित र फरक नामथर सिफारिस र ३ वटा अन्य सिफारिस सेवा प्रखान भएको वडाध्यक्ष कृष्णकुमार गुरुङले जानकारी दिनुभयो ।

यसअघि फक्ताङलुङ गाउँपालिका वडा नं ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन वालुङ र मिक्वाखोला गाउँपालिका वडा नं ५ पापुङका वडाध्यक्ष ग्याञ्जे शेर्पा सहितका जनप्रतिनिधिले समेत आफ्नो वडाका स्थायी बासिन्दा तर काम बिशेषले वडा भन्दा बाहिर रहेका नागरिकलाई उनीहरुकै बसोबास भएको क्षेत्रमा पुगेर वडाले प्रदान गर्ने सेवा दिनु भएको थियो ।

Similar Posts