बिस्थापित परिवारलाई मैवाखोलाले दियो आपतकालिन राहत
उज्यालो पोष्ट
ताप्लेजुङ,असोज ५ । पहिरोबाट बिस्थापित ११ घर परिवारलाई ताप्लेजुङको मैवाखोला गाउँपालिकाले आपतकालिन राहत उपलब्ध गराएको छ ।
स्थानीय विपद् व्यवस्थापन समितिकोतर्फबाट पहिरोका कारण बिस्थापित परिवारलाई खाद्यान्न सामग्री सहितको राहत बितरण गरिएको स्थानीय विपद् व्यवस्थापन समितिका अध्यक्ष एवम् गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिनुभयो ।
गत भदौ २५ गते गएको पहिरोका कारण मैवाखोला गाउँपालिका वडा नं ६ भित्तेका ११ घर परिवार बिस्थापित भएका छन् । पहिरोका कारण १२ घर परिवार उच्च जोखिममा रहेको यसअघि नै स्थानीय विपद् व्यवस्थापन समितिले बताईसकेको छ ।
पालिका अध्यक्ष वनेम,मैवाखोला गाउँपालिका वडा नं ६ का वडाध्यक्ष राजुमान लिम्बू सहितको उपस्थितिमा पीडितलाई राहत सामग्री बितरण गरिएको पालिकाले जनाएको छ ।