ताप्लेजुङ जिल्ला अदालतद्धारा लगत,लक्ष्य र फर्स्योटमा निर्धारित लक्ष्यको आँकडा पार,१८ महिना नाघेकै मुद्दा शुन्य

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार ३२ । ताप्लेजुङ जिल्ला अदालतले लगत लक्ष्य र फर्स्योट लक्ष्यमा निर्धारित लक्ष्यको आँकडा पार गरेको छ ।

अदालतले २ बर्ष नाघेको र १८ महिना नाघेको मुद्दालाई शुन्यमा झार्दै अदालतको रणनीतिक योजनामा समेत सफलता पाएको छ । जिल्ला न्यायाधीस विकास श्रेष्ठको उपस्थितिमा आर्थिक बर्ष २०८१।८२ को बार्षिक समिक्षा तथा पत्रकार भेटघाट कार्यक्रममार्फत अदालतका श्रेष्तेदार मनोज बरालले आव २०८१।८२ मा ताप्लेजुङ जिल्ला अदालतबाट भएको कार्य सम्पादनको अवस्था बारे जानकारी गराउनु भएको हो । श्रेष्तेदार बरालका अनुसार अघिल्लो आवबाट जिम्मेवारी सरी आएका १ सय २७ तथा आव २०८१।८२ मा नयाँ लगतको रुपमा दर्ता भएका ४ सय ५२ गरी कुल ५ सय ७९ थान मुद्दा थिए । अदालतले आव २०८१।८२ मा ४ सय २१ थान मुद्दा दर्ता हुने अनुमान गरेकोमा मुद्दाको नयाँ लगत संख्या भने ४ सय ५२ पुग्यो ।

जिम्मेवारी सरी आएका र नयाँ लगतको रुपमा दर्ता भएका गरी कुल मुद्दाको लगत ५ सय ४८ थान हुने अदालतको अनुमान रहेकोमा मुद्दाको जम्मा लगत ५ सय ७९ थान पुगेको हो । जम्मा लगतमध्ये आव २०८१।८२ भित्रमा कुल ३ सय ७५ थान मुद्दा फर्स्योट गर्ने लक्ष्य पार गर्दै अदालतले जम्मा लगतमध्ये ४ सय २० थान मुद्दा फर्स्योट गरेको जनाएको छ । १ सय ५९ थान मुद्दा आर्थिक बर्ष २०८२।८३ का लागि जिम्मेवारी सरी आएका छन् । अदालतले लगतका आधारमा र लक्ष्यका आधारमा समान ६८ प्रतिशतको अनुमान आँकडा तयार गरेकोमा फर्स्योटका हिसावले क्रमशः७२.५३ र ७७.६४ प्रतिशत फर्स्योट गरी दुबैमा अनुमान भन्दा बढी नतिजा हासिल गरेको जनाएको छ ।

अदालतले २०८२ साल असार मसान्तसम्ममा २ बर्ष नाघेका १७ तथा १८ महिना नाघेका ४७ थान मुद्दा फर्स्योट गर्दै उल्लेखित दुबै अवधि पार गरेका मुद्दाको संख्यालाई शुन्यमा झारेको छ । आव २०८०।८१ बाट २०८१।८२ का लागि जिम्मेवारी सरी आएका १ सय २७ थान मुद्दामध्ये अदालतले आव २०८१।८२ मा १ सय २० थान मुद्दा फर्स्योट गर्दै बाँकी ७ थान मुद्दा आव २०८२।८३ का लागि जिम्मेवारीमा सारेको छ । निबेदन प्रतिबेदनतर्फ जिम्मेवारी सरेका ३ सहित १ सय २६ थानको लगत रहेकोमा अदालतले निबेदन प्रतिबेदनतर्फको सबै लगत फर्स्योट गर्दै सत प्रतिशत नतिजा हासिल गरेको छ ।

विगत ५ आर्थिक बर्षको मुद्दाको तुलनात्मक अवस्थाका आधारमा भने आर्थिक बर्ष २०८१।८२ को फर्स्योट नतिजा आव २०७७।७८ र २०७९।८० भन्दा केहि सुधार तथा आव २०७८।७९ र २०८०।८१ भन्दा केहि कमजोर देखिएको छ । अदालतका अनुसार आव २०७७।७८ मा ६९.२ प्रतिशत तथा आव २०७९।८० मा ७०.१४ प्रतिशत फर्स्योट भएको थियो । ताप्लेजुङ जिल्ला अदालतले आव २०७८।७९ मा ७८.९२ प्रतिशत र आव २०८०।८१ मा ७४.३४ प्रतिशत मुद्दा फर्स्योट गरेको थियो । आव २०८१।८२ मा फर्स्योट प्रतिशत ७२.५३ पुग्यो । आव २०८०।८१ मा २ बर्षे बाँकी मुद्दा ३ थान थिए ।

Similar Posts