ताप्लेजुङ र पाँचथरका दुईसय ३२ करदाताको दर्ता निलम्वन

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १५ । आन्तरिक राजश्व विभागले ताप्लेजुङका एकसय तथा पाँचथरका एकसय ३२ करदाताहरुको दर्ता निलम्वन तथा करकट्टी रोक्का गरेको छ ।
लगातार छ महिनासम्म कर विवरण पेश नगर्ने करदाताको नाम सार्वजनिक गर्दै आन्तरिक राजश्व विभागले त्यस्ता करदाताको करकट्टी गर्नुपर्ने रकम बाँकी भए रोक्का राख्ने तथा निजको दर्ता समेत निलम्वन गर्ने निर्णय लिएको हो । मूल्य अभिवृद्धि कर ऐन २०५२ को दफा १७ को उपदफा(८)बमोजिम आन्तरिक राजश्व विभागले दर्ता निलम्वन तथा करकट्टी रोक्का गर्ने निर्णय गरी करदाता सेवा कार्यालय पाँचथरमार्फत दुबै जिल्लाका स्थानीय तहलाई जानकारी गराएको छ ।
करदाता सेवा कार्यालय पाँचथरका कार्यालय प्रमुख बद्रीप्रसाद भेटवालले पाँचथर र ताप्लेजुङका सबै स्थानीय तहलाई पत्र लेख्दै आन्तरिक राजश्व विभागले दर्ता निलम्वन तथा करकट्टी रोक्का भएका करदाताहरुको नामावली समेत पठाईएको जानकारी दिनुभयो । भेटवालका अनुसार जानकारी तथा प्रचारप्रसारका लागि दुबै जिल्लाका स्थानीय तहहरुलाई दर्ता निलम्वन तथा करकट्टी रोक्का भएका करदाताहरुको नाम नामेसी सहितको विवरण पठाईएको छ ।
आन्तरिक राजश्व विभागले गत बैशाख ११ गते सार्वजनिक सूचना आवह्वान गर्दै आफ्नो व्यवसाय दर्ता रहेको आन्तरिक राजश्व कार्यालय वा करदाता सेवा कार्यालयमा सम्पर्क राखी १५ दिन भित्र करदातालाई कर विवरण बुझाउन भनेको थियो । यही जेठ ७ गते सम्ममा पनि कर विवरण नबुझाएका करदाताको आन्तरिक राजश्व विभागले दर्ता निलम्वन तथा करकट्टी रोक्का गर्ने निर्णय लिएको हो । आन्तरिक राजश्व विभागले दर्ता निलम्वन तथा करकट्टी रोक्का भएका करदातासंग खरिद वा बिक्री कारोवार नगर्न भनेको छ ।
निलम्वनमा भएका करदाताले कर विवरण पेश गरी कारोवार नियमित गरी दर्ता कायम राख्न चाहेमा बाँकी सबै अवधिको कर विवरण पेश गरेपछि निलम्वन सूचीबाट स्वत हट्ने व्यवस्था मिलाईएको आन्तरिक राजश्व विभागले जनाएको छ । दर्ता निलम्वन भएका करदाताको निलम्वनमा परेको अवधिसम्म त्यस्ता करदाताको निकासी र पैठारी सम्वन्धी कारोवार रोक्काका लागि आन्तरिक राजश्व विभागले भन्सार विभागलाई पत्र समेत लेखेको छ । विभागले कुनै करदाताको दर्ता निलम्वन हुनु नपर्ने अवस्था भएको भए वा निलम्वन तथा करकट्टी रोक्का सम्वन्धी निर्णयमा कुनै दावी विरोध भए सम्वन्धित क्षेत्रको करदाता सेवा कार्यालयमा सम्पर्क राख्न भनेको छ ।