प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सवमा सक्रिय सहभागिताका लागि महोत्सव मूल आयोजक समितिको आग्रह

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १० । ताप्लेजुङको सिदिङ्गा गाउँपालिकाले जेठ १५ देखि हुने प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सवमा सहभागिताका लागि आवह्वान गरेको छ ।
महोत्सव मूल आयोजक समितिका अध्यक्ष एवम् सिदिङ्वा गाउँपालिका अध्यक्ष मानबहादुर राईले एक सार्वजनिक अनुरोधपत्र जारी गर्दै जेठ १५ देखि १७ गतेसम्म हुने प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सवमा सहभागिताका लागि पालिकाबासी,छिमेकी पालिकाका नागरिक,ताप्लेजुङ र पाँचथर सहितका जिल्लाका नागरिक र समग्र नेपाली तथा अन्य मुलुकका नागरिकलाई आवह्वान गर्नु भएको छ । महोत्सवले सिदिङ्वा क्षेत्रमा रहेका पर्यटकिय स्थलहरुको प्रचारप्रसारमा टेवा पुग्नुका साथै आन्तरिक तथा बाह्य पर्यटकहरुलाई यसक्षेत्रको मनोरम दृश्य,संस्कार र संस्कृति समेतका बारेमा जान्ने र अध्ययन गर्ने अवसर मिल्ने पालिका अध्यक्ष राईले बताउनु भएको छ । उहाँले प्रथम सिदिङ्वा धाम पर्यटकिय महोत्सवको क्रममा यतिञ्जेलसम्म सक्रियतापूर्वक सहभागिता जनाउने सबैप्रति आभार व्यक्त गर्दै यो लोभलाग्दो सक्रियता महोत्सव समापनका दिनसम्म जारी रहने अपेक्षा समेत गर्नु भएको छ ।
सांस्कृतिक मौलिकताको जर्गेना र खेलकुदको विकाससँगै ग्रामीण पर्यटन प्रवद्र्धनको मुख्य उद्देश्य राखेर आयोजित प्रथम सिदिङ्वा धाम पर्यटन महोत्सव समग्र पालिकाका पर्यटकीय क्षेत्रको विकासको परिकल्पना भएको अध्यक्ष राईले बताउनु भएको छ । महोत्सवका क्रममा हुने सांस्कृतिक उत्सवमा गायक राजेश पायल राईको नेतृत्वमा रहेका कलाकार आउने निश्चित भएको पालिकाका लेखा शाखा प्रमुख भूपेन्द्र बुढाक्षेत्रीले जानकारी दिनु भएको छ । महोत्सवमा सिदिङ्वाधाम दर्शन यात्रा,खेलकुद गतिविधि,स्थानीय उत्पादनको प्रदर्शन,सांस्कृतिक प्रस्तुति लगायतका गतिविधि हुनेछन् । खेलकुदतर्फ वडा स्तरीय भलिबल हुने छ । विजेताले ५० हजार रुपैयाँ नगदसहित ट्रफी,पदक र प्रमाणपत्र प्राप्त गर्ने छ । उपविजेताले ३० हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्ने छ । महोत्सवका अवसरमा हाफ म्याराथन प्रतियोगिता पनि हुनेछ ।
म्याराथनका विजेताले ४० हजार,उपविजेताले ३० हजार र तृतीय हुनेले २० हजार रुपैयाँ नगद पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने भएका छन् । कार्यक्रममा डोरी तान्नेतर्फ सामूहिक र एकल प्रतियोगिता समेत हुने छ भने छेलो हान्ने प्रतियोगिता समेत आयोजना गरिएको महोत्सव व्यवस्थापन सचिवालय संयोजक रुद्रप्रसाद बेघाले जानकारी दिनुभयो । महोत्सवमा सांस्कृतिक प्रस्तुतितर्फ नौमती बाजा,च्याब्रुङ नाच (केःलाङ) सहित स्थानीय समुदायको जातीय संस्कृतिमा आधारित सांस्कृतिक प्रस्तुति हुने छ । याक,चौरी र भेडा प्रदर्शन गर्ने कार्यक्रम रहेको पनि गाउँपालिकाले जनाएको छ । स्थानीय उत्पादन घिउ,छुर्पी सहित स्थानीय समुदायले स्थानीय स्तरका कच्चा पदार्थको प्रयोग गरी निर्माण गरेका हस्तकलाका सामग्रीसमेत प्रदर्शनीमा राखिने पालिकाले जनाएको छ ।
महोत्सव सम्पन्न गर्नका लागि करिब ३७ लाख ९० हजार रुपैयाँ बराबरको लागत अनुमान गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत तिवेन्द्र अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार महोत्सव सम्पन्न गर्न सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी १ सय १ सदस्यीय मूल समारोह समिति बनाइएको छ भने १० वटा उपसमिति निर्माण भएका छन् । किंवदन्ती अनुसार श्रिङ्ग ऋषिले कठोर तपस्या गरी मनोकाँक्षा पूरा गरेकोले सिदिङ्वाधामको दर्शन गरे आफुले मागेको वर सिद्ध हुने जनविश्वास रही आएको छ । सिदिङ्वा धामबाट कञ्चनजङ्घा,पाथीभरा,कुम्भकर्ण सहितका हिमशृंखलाका साथमा भारतको सिक्किम र दार्जिलिङ सहितका स्थानहरूको अवलोकन गर्न सकिने स्थानीय प्रकाश राई बताउँछन् । सिदिङ्वा धामकै प्रसिद्धिबाट पालिकाको नाम नै सिदिङ्वा रहन गएको बताइन्छ । सिदिङ्वा धामबाट सिदिङ्वा गाउँपालिकाका ७ वटै वडाहरूलाई नियाल्न सकिने गाउँपालिकाले जनाएको छ ।