केवलकारको काम सुरु गरे प्रतिवाद गर्ने चेतावनी

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ६ । पाथीभरा (मुक्कुमलुङ) बचाउ अभियानमा रहेको नो केवलकार पक्षले केवलकार निर्माणको काम सुरु गरे प्रतिवाद गर्ने चेतावनी दिएको छ । नो केवलकार पक्षले मंगलबार प्रेस वक्तव्य प्रकाशित गर्दै मुक्कुमलुङ संरक्षणका लागि भइरहेको पहलमा कुनै निस्कर्षमा नपुगी काम सुरु गरेमा सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको हो ।
नो केवलकार पक्षअन्तर्गत मुक्कुमलुङ ताङ्सेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तर्दलीय संघर्ष समितिले पाथीभरामा निर्माण सुरु गरिएको केवलकार परियोजना खारेज गर्नुपर्ने अडान कायमै रहेको उल्लेख गर्दै नो केबलकार पक्षले केवलकारविरुद्ध आन्दोलन जारी रहेको जनाएको छ । मुक्कुमलुङको पहिचान र अस्तित्व संरक्षणको आन्दोलनसँगै वार्ता, सम्वाद र कानुनी उपचारसहित सबैखाले उपायहरु अवलम्बन गरिरहेको पनि सो पक्षले उल्लेख गरेको छ ।
पछिल्लो पटक सर्वोच्च अदालतले केवलकार विरुद्धको रिटमाथि अन्तरकालीन आदेश जारी गरिरहनु नपर्ने निर्णय सुनाएपछि केवलकार निर्माणको बाटो खुल्योभन्दै प्रचार गरिएकोप्रति पनि नो केवलकार पक्षले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । एउटा रिटमा अदालतले सुनाएको निर्णयपछि केवलकार पक्षबाट काम सुरु गर्ने योजना बनाइरहेको पाइएकाले नो केवलकार पक्ष पुनः आन्दोलनमा जान बाध्य हुनुपरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
केवलकार निर्माणको काम सुरु भएपछि नो केवलकार पक्षले गरेको विरोध र आन्दोलनका क्रममा झडपसहित घटनाका शृङ्खलाहरु हुन थालेका थिए । उक्त घटना हुन थालेपछि मुक्कुमलुङ संरक्षण, बन्दी प्रत्यक्षीकरण र केवलकारको काम रोक्ने अन्तरिम आदेशको मागसहित परेको रिटउपर सर्बोच्च अदालतले निर्माणको सबै काम यथास्थितिमा राख्न आदेश दिएको थियो । सोही रिटहरुका लागि तोकिएको पेसीबाट गत बैशाख ३१ गते अन्तरकालीन आदेश जारी गर्नु नपर्ने अदालतले निर्णय सुनाएपछि केवलकार निर्माण बाटो खुल्योभन्दै अफवाह फैलाएको नो केवलकार पक्षले उल्लेख गरेको छ ।
अझै धेरै सङ्ख्यामा सर्बोच्च अदालतमा दर्ता भएको रिटको कुनै निर्णय भइनसकेको पनि प्रेस वक्तव्यमा उल्लेख छ । अदालतले कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्सहितको रिटमा मुद्दाको किनारा नलागेसम्म पाथीभरा क्षेत्रमा कुनै संरचना तथा कार्य नगर्ने अन्तरिम आदेश पहिले नै भएकाले केवलकार निर्माणको बाटो बन्द नै रहेको वक्तव्यमा जनाइएको छ । अदालतको आदेश कसैबाट उल्लङ्घन भएमा जनताको प्रतिरोध हुनेसमेत चेतावनी दिइएको छ ।
यता नो केवलकार पक्षले पुनः अर्को चरणको आन्दोलनको कार्यक्रम पनि वक्तव्यमार्फत सार्वजनिक गरेका छन् । जसअनुसार आगामी जेठ ३१ र असार १ गते पाथीभरा क्षेत्रमा मुक्कुमलुङ संरक्षण वृक्षरोपण–२ कार्यक्रम गर्ने जनाइएको छ । त्यस्तै इम्बिरी याङ्धाङ्वा (तमोर खोला) मुन्धुमीस्थल भएकाले त्यहाँ निर्माण गर्न लागिएका हाइड्रोपावर योजनाले मुक्कुमलुङ समेतलाई प्रतिकुल असर पार्ने हुँदा ती परियोजनाको स्थलगत अध्ययन गरी कार्यक्रम अघि बढाउने रहेको छ ।
मुक्कुमलुङ सहितका विषयमा युएनलगायत सम्बन्धित अन्तर्राष्ट्रिय निकायहरुमा जानकारी गराउने र थप कदमहरु चाल्ने, मुक्कुमलुङ संरक्षणको लागि विगतमा भएका कार्यक्रमसँगै धर्ना कार्यक्रम सञ्चालन गर्ने रहेको छ । नो केवलकार पक्षको मुक्कुमलुङ ताङ्सेःप चुम्भोअन्तर्गत १३ वटा संघ संस्था आवद्ध छन् भने अन्तर दलतर्फ ११ वटा राजनीतिक पार्टी तथा संगठन आवद्ध छन् ।