कफी खेति गर्न इच्छुक मैवाखोलावासीले जेठ ९ भित्र पालिकाको कृषि शाखामा आबेदन दिनुपर्ने

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ ३ । रसायनिक मल र बिषादी प्रयोग नगरी कफी खेति गर्न इच्छुक कफी खेतिका लागि योग्य क्षेत्र भनी विज्ञद्धारा सिफारिस भएका क्षेत्रका किसानलाई ताप्लेजुङको मैवाखोला गाउँपालिकाले कफीका बिरुवा वितरण गर्ने भएको छ ।
गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीमाया गोम्देनका अनुसार कफी खेति गर्न इच्छुक कफी खेतिका लागि योग्य क्षेत्र भनी विज्ञद्धारा सिफारिस भएका क्षेत्रका किसानले कफीका बिरुवा चाहेमा जेठ ९ गते सम्ममा पालिकामा आबेदन दिनुपर्ने हुन्छ । कफीका बिरुवा माग गर्ने किसानले आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपि र रसायनिक मल र रसायकिन बिषादी प्रयोग नगरी जैविक रुपमा कफी खेति गर्ने प्रतिबद्धतापत्र समेत संलग्न राख्नुपर्ने पालिकाले जनाएको छ । परेका आबेदनमध्ये २०८२ साल बैशाख ३१ गते कफी खेति सम्वन्धी पालिकाले सञ्चालन गरेको अभिमुखीकरण कार्यक्रममा सहभागी कृषकलाई प्राथमिकता दिने तथा कफी खेति हुने क्षेत्रमा अनिवार्य रुपमा खाडलको तयारी,कम्पोष्ट मल र छहारीको व्यवस्था गरिएको हुनुपर्ने समेत पालिकाले जनाएको छ ।
पालिकाले विज्ञद्धारा कफी खेति हुने क्षेत्रको सम्भाव्यता गरेको थियो । कफी खेतिका लागि विज्ञहरुले मैवाखोला गाउँपालिकाको वडा नं १ स्थित १ हजार २ सय मिटर उचाईको तेल्लाबुङ,वडा नं २ को १ हजार १ सय देखि १ हजार १ सय ५० मिटर उचाईको तेम्बे तथा १ हजार ३ सय मिटर उचाईको हात्तिखावा(बाटो मुनि हाङथाना तल्लो भाग) र १ हजार ३ सय देखि १ हजार ४ सय मिटर उचाईको वडा नं ३ स्थित माङहिम टोल र भट्टराई टोलमा कफी खेति गर्न सकिने क्षेत्रको रुपमा सिफारिस गरेका छन् ।
विज्ञहरुको अध्ययन प्रतिबेदन अनुसार १ हजार ३ सय देखि १ हजार ४ सय मिटर उचाईको रिफाईले जाने घिमिर टोल देखि बाटो मुनिको क्षेत्र,वडा नं ५ को १ हजार ३ सय देखि १ हजार ४ सय ५० मिटर उचाईको नुमलोक फाकुम्बा क्षेत्र तथा १ हजार ३ सय देखि १ हजार ४ सय मिटर उचाईको घोडेटार क्षेत्रका कफी खेति लगाउन सकिने भएको छ । वडा नं ६ को १ हजार २ सय देखि १ हजार ३ सय ५० मिटर उचाईको हाम्फाबुङ र साङलुपा क्षेत्रमा कफी खेति गर्न सकिने गरी विज्ञहरुको टोलीले पालिकालाई अध्ययन प्रतिबेदन दिएको छ ।
विज्ञको टोलीले ५० सेन्टिमिटर गहिरो तथा चौडाई प्रकृतिको खाल्डो खनेर २–२ मिटरको दुरीमा रोप्न,कफी लगाउने जमिनमा अनिवार्य छहारी तथा सिचाँईको व्यवस्था गर्न,कफी लगाउँदै गरेको जमिनमा पानी जम्ने सम्भावित जोखिम भएका स्थानहरुमा पानी बग्ने गरी कफी लगाउने जग्गाको तयारी गर्न,कफी लगाउने क्षेत्रको माटो परीक्षण अनिवार्य गर्न समेत किसानलाई सुझाव दिई सकेको छ । विज्ञटोलीले यसअघि कफी खेतिका लागि इच्छुक कृषकहरुसंग अन्तरकृया कार्यक्रम गरिसकेको छ ।