सिदिङ्वामा बर्थिङ सेन्टरसम्म बिरामी लैजाँदा एम्बुलेन्स निःशुल्क,जेठ १५ देखि तीनदिने सिदिङ्वा महोत्सव

खगेन्द्र अधिकारी
ताप्लेजुङ,बैशाख ३० । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले प्रसुति सेवाका लागि पालिकाको बर्थिङ सेन्टरसम्म बिरामी लैजाँदाको एम्बुलेन्स भाडा मिनाह गरेको छ ।
कार्यपालिकाको बैठकले एम्बुलेन्स सन्चालन सम्बन्धि कार्यविधि २०७७ संशोधन गरी प्रसुति सेवाका लागि पालिकाको बर्थिङ सेन्टरसम्म बिरामी लैजाँदाको एम्बुलेन्स भाडा निःशुल्क गर्ने निर्णय गरेको पालिका अध्यक्ष मानबहादुर राईले जानकारी दिनुभयो । पालिका अध्यक्ष राईका अनुसार हरित अभियानलाई अघि बढाउन पालिकाले वृहत्त वृक्षरोपण तथा रोपण भएको क्षेत्रको व्यवस्थापन समेत गर्ने भएको छ । त्यसका लागि पालिकाले चालु आर्थिक बर्षमै पालिकाभरीका टोल विकास संस्थालाई १ हजार थानका दरले विभिन्न प्रजातिका बिरुवा उपलब्ध गराउने भएको छ । टोल विकास संस्थाहरुले आफ्नो क्षेत्रभित्रका सार्वजनिक स्थानमा बिरुवा रोपण तथा यसको हेरचाह समेतको जिम्मेवारी पाएका छन् । बिरुवा रोपण कार्य असार १५ सम्ममा पूरा गरिसक्नुपर्ने गरी टोल विकास संस्थालाई समयसीमा दिईएको पालिकाले जनाएको छ ।
पालिकाले २०८२ साल जेठ १५ गते १७ गतेसम्म सिदिङ्वा महोत्सव आयोजना गर्ने भएको छ । पछिल्लो समय प्रसिद्ध धामको रुपमा उदाउँदै गएको सिदिङ्वा धाम तथा पालिका क्षेत्रका पर्यटकिय क्षेत्रको प्रचारप्रसार र प्रवद्र्धनका लागि सिदिङ्वा महोत्सव आयोजना गर्न लागिएको पालिका अध्यक्ष राईले जानकारी दिनुभयो । पालिकाले बेरुजु फर्स्यौट गर्ने कार्यलाई बिशेष प्राथमिकता दिएर अघि बढ्ने निर्णय समेत गरेको छ । त्यसका लागि पालिकाले आर्थिक कार्यविधि तथा उत्तरदायित्व नियमावली २०७७ को नियम ९० को उपनियम १ र ३ को व्यवस्था बमोजिम असुल उपरको प्रक्रिया अगाडि बढाउने निर्णय समेत लिएको छ । बेरुजु अन्तरगत प्रमाण पेश गर्नेको हकमा आवश्यक प्रमाण पेश गरी फर्स्यौटका लागि प्रक्रिया बढाउने पालिका प्रशासनलाई कार्यपालिकाले निर्देशन समेत दिएको छ ।
पालिकाले पालिका क्षेत्रका लागि छनौट भएका सडक हेरालुलाई जेठ १ गते देखि सम्वन्धित क्षेत्रमा नियमित रुपले सडक हेरालु कार्यका लागि परिचालन गर्ने निर्णय समेत गरेको छ । यस्तै त्यस्तै नोरुङ्गा भन्ज्याङमा साप्ताहिक हाट बजार सञ्चालनका लागि आवश्यक पहल गर्ने निर्णय समेत पालिकाले गरेको छ । ५ शैयाको आधारभूत अस्पताल निर्माणको अबरुद्ध प्रकृया तत्काल अघि बढाउन संघीय र प्रदेश सरकारसंग समेत सहयोगको अपेक्षा गर्दै आवश्यक जग्गा व्यवस्थापन र अन्य कार्यको अगुवाई पालिकाले गर्ने निर्णय समेत गरेको छ । गाउँ कार्यपालिकाको बैठकले सामुदायिक विद्यालय अन्तरगत भाषा तथा लिपि संरक्षण कार्यविधि २०८२ तथा सिदिङ्वा गाउँपालिकाको विद्यालय सुपरीवेक्षण,अनुगमन तथा शिक्षण पेशागत सहयोग कार्यविधि २०८२ कार्यविधिहरु पारित गरी भाषा शिक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउने निर्णय समेत गरेको पालिका अध्यक्ष राईले बताउनुभयो ।