वडा कार्यालय साँवाले तोक्यो उपभोग्य वस्तुको मूल्य दर

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन २२ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकामा वडा कार्यालय उपभोग्य वस्तुको मूल्य दर तोकेको छ । वडा नम्बर ४ साँवाले अन्नपात लगायतका उपभोग्य वस्तुको मूल्य दर तोकेको हो ।
वडाले मूल्य दर तोके (निर्धारण) अनुसार खाद्यान्न अर्थात अन्नपाततर्फ धान प्रतिपाथी २५० रुपियाँ, मकै पाथीको ३०० रुपियाँ रहेको छ । यस्तै कोदो र गहुँ प्रतिपाथी समान ३०० रुपियाँ, जौ प्रतिपाथी २५० रुपियाँ, भटमास ८०० रुपियाँ र आलुको बिऊ प्रतिपाथी ३०० रुपियाँ मूल्य तोकिएको छ । घ्युको मूल्य प्रतिमाना ३०० रुपियाँ तोकिएको छ ।
यसैगरी बङ्गुर र सुङ्गुरको मासु प्रतिकिलोग्राम ४०० रुपियाँ, खशीको मासु प्रतिकिलोग्राम ६०० रुपियाँ, राँगाको मासु प्रतिकिलोग्राम ३०० रुपियाँ तोकिएको छ । त्यस्तै वडाले बाख्राको मासु प्रतिकिलोग्राम ५०० रुपियाँ र स्थानीय (लोकल) कुखुराको मासुको मूल्य प्रतिकिलोग्राम एक हजार रुपियाँ तोकेको छ ।
यस्तै घरेलु मदिरा जाँड रक्सीको पनि वडा कार्यालयले मूल्य निर्धारण गरेको छ । जसअनुसार लोकल रक्सी प्रतिबोतल १५० रुपियाँ, तोङ्बा १२५ रुपियाँ र निघार प्रतिबोतल १०० रुपियाँ मूल्य तोकिएको छ । वडाले घरेलु कामदारको ज्याला (पारिश्रमिक) पनि तोकेको छ । पुरुष कामदारका लागि एक दिनको ५०० रुपियाँ र महिला कामदारका लागि ४०० रुपियाँ पारिश्रमिक तोकिएको छ ।
वडाध्यक्ष सदनकुमार साँवा लिम्बूका अनुसार गएको आइतबार बसेको वडा कार्यसमितिको बैठकले उपभोग्य वस्तुको मूल्य तोक्ने निर्णय गरेको हो । वडाभित्र उपभोग्य वस्तुको मूल्य र घरेलु कामदारको ज्यालामा एकरुपता ल्याउन दररेट तोकिएको वडाध्यक्ष साँवाले जानकारी दिनुभयो । यता वडाले तोकेको मूल्य दर आ–आफ्नो टोलमा कार्यान्वयन गर्न पनि वडा कार्यालयले अनुरोध गरेको छ ।