काबेली खोलाबाट उत्पादित १२ मेघावाट बिद्युत राष्ट्रिय प्रसारण लाइनमा समाहित

खगेन्द्र अधिकारी
ताप्लेजुङ,फागुन १५ । ताप्लेजुङको सिरिजङ्गा गाउँपालिकामा निर्माण भएको १२ मेगावाट क्षमताको सुपर काबेली खोला जलविद्युत आयोजनाको बिद्युत बिहीबारबाट राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको छ ।
हिलटन हाइड्रो इनर्जी लिमिटेडद्धारा प्रवद्र्धित सिरिजङ्गा गाँउपालिका वडा नं ६,७ र ८ भएर बग्ने काबेलीखोलाबाट निकालिएको विद्युत पाँचथरस्थित अमरपुर सव स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा समाहित भएको हो । ‘परीक्षण उत्पादन सुरु गरिएको छ’आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुङ्गानाले भन्नुभयो । उहाँका अनुसार उत्पादित विद्युतलाई १३२ केभी प्रशारण लाईनमार्फत पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका वडा नं.१ अमरपुरस्थित दुबीचौरमा रहेको नेपाल विद्युत प्रधिकरणको सवस्टेशनमा समाहित गरिएको छ ।
निर्माण कार्य पूरा गर्न २०८१ साल चैत १० गते सम्मको अवधि रहेकोमा आयोजनाले प्राप्त अवधि भन्दा एकमहिना अगावै विद्युत उत्पादन गरी परीक्षण प्रसारण थालेको छ । २०७९ साल पुस २५ गतेबाट विद्युत आयोजनाको निर्माण कार्य सुरु भएको थियो । निर्माण कार्य सुरु गरेको साढे २५ महिनामै विद्युत आयोजना पूरा गरेको सुपर काबेली खोला जलविद्युत आयोजनाले जनाएको छ । आयोजनाको कुल लागत २ अर्ब १४ करोड ३८ लाख २१ हजार रुपैयाँ रहेको थियो ।
आयोजनाको कुल लागतमध्ये २५ प्रतिशत स्वःपुँजी रहेको थियो भने बाँकी ७५ प्रतिशत एनएमबी बैंक लिमिटेडको अगुवाईमा राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सहितका बैंक लागत साझेदार थिए । आयोजनाको इन्टेक सिरिजङ्गा गाउँपालिका वडा नं ८ याम्फुदिनमा रहेको छ भने विद्युतगृह(पावर हाउस) सिरिजङ्गा गाउँपालिका वडा नं ७ खेवाङमास्थित ओथाममा रहेको छ । हेडवक्र्स,पाइपलाइन,टनेल,भर्टिकल साफ्ट,सर्ज साफ्ट,बाईपास टनेल लगायतका संरचना निर्माण गरिएको सुपर काबेली खोला जलविद्युत आयोजनाले जनाएको छ ।