‘उज्यालो फक्ताङलुङ’बनाउन जलविद्युत र नविकरणीय उर्जा प्रणालीलाई एकसाथ अघि बढाउँदै फक्ताङलुङ
खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १५ । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकाले केन्द्रीय प्रसारण लाइन र नवीकरणीय उर्जा दुबैलाई एकसाथ अघि बढाउँदै ‘उज्यालो फक्ताङलुङ’अभियान साकार पार्ने घोषणा गरेको छ ।
पालिका अध्यक्ष राजन लिम्बू(मुक्ति)ले गाउँपालिका भित्रका सबै बस्तिहरुमा गुणस्तरीय,सुरक्षित तथा भरपर्दो विद्युत आपूर्तिका लागि पालिकाले नविकरणीय उर्जा र केन्द्रीय विद्युत प्रसारण लाइनका साथ लघु जलविद्युतको कार्यलाई एकसाथ अघि बढाउने नीति लिएको जानकारी दिनुभयो । पालिका अध्यक्ष लिम्बूका अनुसार वडा नं ६ लेलेपस्थित थाक्पुखोला लघु जलविद्युत आयोजनाको पुर्ननिर्माणले लेलेप गाउँको लामो समय देखिको अन्धकार हटेको जानकारी दिए । उक्त आयोजनालाई पूर्ण क्षमतामा सञ्चालन गर्दै दिगोपनाका लागि आवश्यक मर्मतसम्भार र प्रभावकारी व्यवस्थापन गर्ने जिम्मा पालिकाले लिएको समेत पालिका अध्यक्ष लिम्बूले बताउनुभयो । लेलेपको ग्याब्ला तथा घुन्सामा निर्माणाधिन जलविद्युत आयोजनाहरुको निर्माण कार्य पूरा गरी चालु आर्थिक बर्ष २०८३।८४ बाटै ल्याउने तयारी अनुसार कामको गतिलाई तीव्रता दिईएको समेत पालिकाले जनाएको छ । यि आयोजना पूरा हुँदा स्थानीय बासिन्दा तथा कञ्चनजंघा संरक्षण क्षेत्रका पर्यटकीय गन्तव्यहरुमा भरपर्दो विद्युत सेवा प्रवाह हुने पालिकाको विश्वास रहेको छ ।
पालिकाले नेपाल विद्युत प्राधिकरण तथा अन्य सम्वन्धित निकायसंग समन्वय गरी विद्युत प्रसारण तथा वितरण प्रणालीको स्तरोन्नती,क्षमता बिस्तार तथा गुणस्तर सुधारमा बिशेष पहल गर्ने समेत जनाएको छ । मुरिङ्ला डाँडा तथा लोवा डाँडामा स्थापना भएका फोरजी दूर सञ्चार टावरको दिगो सञ्चालनका लागि आवश्यक विद्युत पूर्वाधार सुद्रिढ गर्ने तथा दूर सञ्चार सेवाको थप बिस्तारका लागि पालिकाले निरन्तर पहल लिईरहेको समेत पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो । पालिकाले विद्युत तथा नवीकरणीय उर्जामा निजी क्षेत्र,विकास साझेदार तथा समुदायसंग साझेदारी गरी सरकारी–निजी र सामुदायिक साझेदारी(पिपिसिपी)प्रणालीद्धारा जलविद्युत तथा वैकल्पिक उर्जा प्रर्वद्धनका लागि पालिकाले अग्रसरता लिएको जनाएको छ । पालिकाले जलवायु परिवर्तन अनुकूलन वातारणमैत्री तथा दिगो उर्जा प्रणालीमार्फत हरित विकासलाई बिशेष प्राथमिकता दिएको समेत पालिका अध्यक्ष लिम्बूले जानकारी दिनुभयो ।