पदयात्रामा हिमाल, पहाड र तराई सम्मका नागरिक

-उज्यालो पोष्ट
ताप्लेजुङ, फागुन ८ । ताप्लेजुङको पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु गरिएको केबुलकारविरुद्ध पदयात्रामा हिमाल, पहाड र तराई सम्मका नागरिक सहभागी भएका छन् । केबुलकारविरुद्ध आन्दोलनप्रति ऐक्यवद्धता जनाउन हिमालदेखि तराई सम्मका राजनीतिक नेतृत्वसहितका नागरिकले सहभागिता जनाएका हुन् ।
बिहीबार भएको पदयात्रा तथा प्रदर्शनमा पूर्व उपप्रधानमन्त्रीसमेत रहनुभएका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले सहभागिता जनाउनुभएको छ । महतोले पदयात्रा सुरु हुनुअघि माथिल्लो फेदीमा भएको कोणसभालाई सम्बोधन गर्दै पाथीभरामा केबुलकार बन्नु नहुने बताउनुभयो । उहाँले केबुलकारविरुद्ध आन्दोलनमा मधेशको साथ रहने बताउनुभयो ।
पाथीभरा क्षेत्रको काफ्लेपाटीदेखि सुरु भएको पदयात्रा माथिल्लो फेदी हुँदै पुनः काफ्लेपाटी केबुलकारको बटम (प्रस्थान विन्दु) स्टेसन निर्माणस्थल आएको थियो । पदयात्रामा केबुलकारविरुद्ध चर्को नाराबाजीसमेत गरिएको थियो । पदयात्रामा राष्ट्रिय मुक्ति पाटीका अध्यक्ष महतोसहित पूर्वमन्त्री रकम चेम्जाङ र गोपाल किराँती लगायतका राजनीतिक नेतृत्वसहितका नागरिक सहभागी भएका थिए ।
केबुलकार निर्माणको काम भइरहेको नजिक नो केबुलकार समूह तथा पहिचान पक्षधरले क्षमा पूजासमेत गरेका थिए । पूजा आजापछि केबुलकार निर्माणस्थलमा नो केबुलकार समूहले नाराबाजीसहित प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबिच झडपसमेत भएको थियो । झडपमा दुवै पक्षका दर्जनौ संख्यामा घाइते भएका छन् ।
यता मुक्कुमलुङ संरक्षण संयुक्त संघर्ष समिति, केबुलकार खारेजी संयुक्त संघर्ष समितिलगायत नो केबुलकार पक्षले ऐतिहासिक धार्मिक स्थलमा केबुलकार बनाउन लागिएकोभन्दै सुरुदेखि नै विरोध गर्दै आएको छ । विरोधकाबिच चन्द्र ढकाल नेतृत्वको पाथीभरा दर्शन केबलकार प्रालिले केबुलकार निर्माणको कार्य सुरु गरेको छ ।