आगलागी तथा वन डढेलोका घटना हुन नदिन सबै व्यक्ति जिम्मेवार र सम्बेदनशील बन्नुपर्छ: ताप्लेजुङ प्रहरी

खगेन्द्र अधिकारी
ताप्लेजुङ,माघ २५ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले आगलागी तथा वन डढेलोका घटना हुन नदिन सबै व्यक्ति जिम्मेवार र सम्बेदनशील हुनुपर्ने औंल्याएको छ ।

जिल्ला प्रहरी प्रमुख(डिएसपी) रवि रावलले आगलागी तथा वन डढेलो मानव सिर्जित कारणबाट हुने भन्दै यसमा सम्बेदनशिल भइदिन आग्रह गर्नु भएको छ । ताप्लेजुङ प्रहरीले अहिले आगलागी तथा वन डढेलोप्रति समुदाय सचेतीकरणका कार्यक्रमहरु समेत सञ्चालन गरिरहेको छ । सामुदायिक–प्रहरी साझेदारी कार्यक्रम अन्तरगत जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी युनिटहरुमार्फत गाउँटोल सम्म सचेतनामुलक कार्यक्रम सञ्चालन भइरहेको डिएसपी रावलले बताउनुभयो । मानिसको गल्ति तथा हेलचेक्र्याँईबाट आगलागी तथा वन डढेलोका घटनाहरु बर्षेनि हुने गरेका छन् ।

सुख्खा मौसम तथा हावाहुरीको समय समेत सुरु भएकोले सम्भावित आगलागी तथा वन डढेलोका घटनाबिरुद्ध मानिसहरुले सावधानी अपनाउनुपर्ने प्रहरी कार्यालयले ठम्याएको छ । जिल्ला प्रहरी कार्यालयले चुरोट,बिँडी तथा सलाईका काँटीहरु राम्ररी ननिभाई जथाभावी नफाल्न,लापरवाहीपूर्ण ढंगले प्रज्वलनशील पदार्थको प्रयोग भण्डारण नगर्न,खेतवारीको झ्याझुस डढाउन लगाईएको आगो राम्ररी रुँघेर बाल्न र डढी सकेपछि राम्ररी निभाउन आग्रह गरेको छ ।

प्रहरीले खाना पकाउने लगायतका कार्यमा प्रयोग हुने आगो काम सकिएपछि राम्ररी निभाउन,काम सकिएपछि खाना पकाउने ग्याँसको रेगुलेटर अनिवार्य मार्न,(अफ गर्न),घरमा रहेका तारबारको नियमित परीक्षण गर्न,बिद्युतीय उपकरण प्रयोग गरेपछि बिद्युतको स्वीच अफ गर्न,बिद्युतीय जोखिम कमका लागि अनिवार्य एमसिबीको प्रयोग गर्न,सलाई लाइटर जस्ता प्रज्वलनशील बस्तु बालबालिकाको पहँुच भन्दा टाढा राख्न समेत सबैलाई आग्रह गरेको छ ।

‘आगो रुँघेर बाल्ने र काम सकिएपछि यसलाई राम्ररी निभाउने कार्यले समेत आगलागीका घटना कम गराउन सकिन्छ’जिल्ला प्रहरी प्रमुख रावलले भन्नुभयो । उहाँले खाना पकाउने ग्याँसको प्रयोग गर्दा सुरक्षित तवरले गर्ने र काम सकिएपछि अनिवार्य रेगुलेटर अफ गर्नु पनि जोखिम कम गर्ने उपायको रुपमा औंल्याउनु भएको छ ।

वन ऐन २०७६ अनुसार वन जंगलमा आगो लगाउनेलाई आगजानीको क्षतिपूर्तिको विगो असुल गर्ने र तीनबर्ष कैद वा ६० हजार रुपैयाँ जरीवाना वा दुबै सजाय हुने व्यवस्था रहेको छ । यस्तै मुलुकी अपराध संहिता ऐन २०७४ अनुसार कसैले सार्वजनिक सम्पत्तिमा आगो लगाई अपराधिक उपद्रव गरेमा २ बर्ष देखि ५ बर्ष सम्म कैद र २० हजार देखि ५० हजार रुपैयाँ सम्म जरीवाना हुने व्यवस्था रहेको छ ।

Similar Posts