गुणस्तरीयता कायम गर्न निर्माण सामग्रीको ल्याव टेष्टलाई अनिवार्य गर्दै आठराई त्रिबेणी

उज्यालो पोष्ट
ताप्लेजुङ,माघ २४ । ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकाले पालिकाका क्रमागत,ठूला तथा गौरवका योजनामा प्रयोग हुने निर्माण सामग्रीको ल्याव टेष्ट अनिवार्य गर्ने नीति अघि सारेको छ ।
आठराई त्रिबेणी गाउँपालिका अध्यक्ष दीपेन्द्र पोमू(दीपेन)का अनुसार पालिका मातहत सञ्चालनमा रहेका क्रमागत,ठूला र गौरवका योजना निर्माणका क्रममा प्रयोग भएका सामग्रीको ल्याव टेष्टका लागि नमूना संकलन गरिएको छ । संकलन गरिएका निर्माण सामग्रीको नमूना मान्यताप्राप्त सरकारी निकायका ल्याव टेष्टहरुमा पठाईएको पोमूले जानकारी दिनुभयो ।
पोमूका अनुसार ल्याब टेष्टका लागि पठाईएको नमूनाको नतिजाका आधारमा निर्माण सामग्री प्रयोगलाई निरन्तरता दिने या त्यसलाई बिस्थापन गरी थप गुणस्तरीय सामग्री मगाउने भन्ने बिषयको टुङ्गो लाग्ने छ । विकास निर्माणका कामलाई गुणस्तरीय बनाई पारदर्शी काम होस् भन्ने हेतुले निर्माण सामग्रीको ल्याव टेष्ट कार्य सुरु गरिएको अध्यक्ष पोमूले बताउनुभयो ।