थेचम्बुमा कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता सुरु

-उज्यालो पोष्ट
ताप्लेजुङ, चैत ५ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकामा कोशी प्रदेशस्तरीय खुला ब्याडमिन्टन प्रतियोगिता सुरु भएको छ । गाउँपालिकाको प्रशासकीय केन्द्र थेचम्बुमा दोस्रो पाथीभरा याङ्वरक कोशी प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिता मंगलबारदेखि सुरु भएको हो ।
पाथीभरा याङ्वरक गाउँपालिकाको आयोजना तथा पाथीभरा ब्याडमिन्टन संघको प्राविधिक सहयोगमा सुरु भएको प्रतियोगितामा मेन्स डबल्स (सिनियर) र भेट्रान्स मेन्स डबलको प्रतिस्पर्धा कोशी प्रदेशस्तरीय रहेको छ । प्रदेशस्तरीय प्रतियोगितामा ताप्लेजुङसहित धनकुटा, तेह्रथुम, पाँचथर, झापा, इलाम र मोरङको सहभागिता रहेको प्रतियोगिताका व्यवस्थापक तेजबिर मेन्याङ्बोले जानकारी दिनुभयो ।
गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाका स्वकीय सचिवसमेत रहनुभएका मेन्याङ्बोका अनुसार भेट्रान्सतर्फ ताप्लेजुङ, पाँचथर र तेह्रथुमको सहभागिता रहेको छ । प्रतियोगितामा मेन्स डबल सिनियरतर्फ विजेताले ४० हजार र उपविजेताले ३० हजार रुपियाँ नगद पुरस्कार पाउने उहाँले उहाँले जानकारी दिनुभयो । यस्तै प्रदेशस्तरकै भेट्रान्स मेन्स डबलका विजेताले ३० हजार र उपविजेताले २० हजार रुपियाँ नगद पुरस्कार पाउने छन् ।
यसैगरी ताप्लेजुङ जिल्लास्तरीय कर्मचारी डबल्स, मिक्स डबल्स, मेन्स डबल (जुनियर) र जनप्रतिनिधि डबल्सको प्रतिस्पर्धा हुने पनि गाउँपालिकाले जनाएको छ । जिल्लास्तरीय चारवटै प्रतिस्पर्धामा विजेता र उपविजेताले समान २० हजार र १५ हजार रुपियाँ नगद पुरस्कार प्राप्त गर्ने छन् ।
पाथीभरा याङ्वरक गाउँपालिकासतरीय जुनियर ‘सी’अन्तर्गत मेन्स डबल्सको प्रतियोगिता रहेको र गाउँपालिकास्तरीय प्रतिस्पर्धाका विजेताले १० हजार र उपविजेताले पाँच हजार रुपियाँ नगद पुरस्का पाउने प्रतियोगिताका संयोजक अर्जुन श्रेष्ठले जानकारी दिनुभयो । शुक्रबार सम्पन्न हुने प्रतियोगिताको उद्घाटन गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बाले गर्नुभएको छ ।