सिकैचामा काँग्रेसले लक्सम्बालाई उम्मेदवार बनाउने
उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २९ । नेपाली काँग्रेसले ताप्लेजुङको सिरिजङ्गा गाउँपालिका वडा नं ३ सिकैचाको वडाध्यक्ष उपनिर्वाचनमा भीमकुमार लक्सम्बालाई उम्मेदवार बनाउने भएको छ ।
जिल्ला सभापति गजेन्द्रप्रसाद तुम्याहाङले लक्सम्बालाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिनुभयो । उपनिर्वाचनमा काँग्रेसबाट वडाध्यक्षको उम्मेदवार बन्न लक्सम्बा सहित वडा सभापति गोपाल चिमरिया,योगेन्द्र काङवा,राजबहादुर योङया र टेकनाथ पौडेलले आकाँक्षा राख्नु भएको थियो । नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)ले यसघि नै उम्मेदवार तय गरिसकेका छन् । एमालेले कुमारी साउदेन र माओवादी केन्द्रले अम्बि साउदेनलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
२०७९ सालको स्थानीय तहको निर्वाचनबाट निर्वाचित वडाध्यक्ष दिलप्रसाद बोखिमले बैदेशिक रोजगारीमा गएर हङकङबाटै राजीनामा पत्र पठाएपछि सिकैचामा उपनिर्वाचन हुन लागेको हो । काँग्रेसका बोखिमले झिनो मतान्तरले एमाले उम्मेदवार साउदेनलाई पराजित गर्नु भएको थियो । एमालेले यसअघि पराजित साउदेनलाई नै उम्मेदवार बनाएको छ ।
२०७९ सालको निर्वाचनमा काँग्रेस र माओवादी केन्द्र सहितको गठबन्धन थियो । अहिले तीनवटै दलले उम्मेदवार तय गरिसकेका छन् । अम्बि वडा सदस्यबाट राजीनामा दिएर वडाध्यक्षको उम्मेदवार बन्न लाग्नु भएको छ । बोखिम बैदेशिक रोजगारीमा गएपछि अम्बिले कार्यवाहक वडाध्यक्ष भएर कार्यभार सम्हाल्नु भएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टीले समेत सिकैचाको वडाध्यक्षको उम्मेदवार बनाउने भनेपनि अहिले सम्म निर्णय गरेको छैन ।