किसान अलैँची थन्क्याउनमा व्यस्त
-उज्यालो पोष्ट
ताप्लेजुङ, कात्तिक १२ । ताप्लेजुङका किसान हिजोआज नगदेबाली अलैँची थन्क्याउनमा व्यस्त बनेका छन् । दसैँ, तिहारजस्ता चाडपर्वको समयसँगै अलैँची थन्क्याउने मौसम भएकाले खेतीमा संलग्न किसानहरु व्यस्त बनेका हुन् । किसानहरु यतिबेला अलैँची थन्क्याउन अर्थात अलैँची टिप्न, छोडाउन र सुकाउनमा व्यस्त भएका छन् ।
जिल्लाकै प्रमुख नगदेबाली अलैँची थन्क्याउनलाई असोज र कात्तिक महिना मुख्य मौसम मानिन्छ । औल क्षेत्रमा भने भदौदेखि अलैँची संकलन गर्न थालिन्छ भने लेक क्षेत्रमा मङ्सिर महिनासम्म संकलन गर्ने गरिन्छ । भदौदेखि मङ्सिर महिनासम्म समय लाग्ने भए पनि अहिले मुख्य मौसम भएकाले किसानलाई अलैँची थन्क्याउन भ्याइनभ्याई हुने गरेको छ ।
अलैँची टिप्ने (संकलन) गर्ने समय भएपछि अरु सबै काम छोडेर किसानहरु अलैँची थन्क्याउनेमा लाग्ने गर्दछन् । दसैँ तिहारजस्ता महत्वपूण चाडपर्व पनि नभनी हिजोआज अलैँची थन्क्याउने काममा जुट्नुपर्ने समय रहेको किसानको भनाइ छ । अलैँची थन्क्याउने समय भएकाले दसैँ पर्व पनि घरमा बसेर सहज गरी मनाउन नपाएको किसानले बताएका छन् ।
फुङ्लिङ नगरपालिकाको बिहीबारे क्षेत्रमा अलैँची खेती गर्दै आउनुभएका फक्ताङ्लुङ गाउँपालिका–२ खेजेनिमका किसान खाङ्डु शेर्पाले अलैँची बगानमै दसैँ मनाएको बताउनुभयो । अलैँची थन्काउने समय भएपछि ढिलो गरेमा चरामुसाले खाएर नोक्सानी पु¥याउने हुँदा चाडपर्व नभनी अलैँची थन्क्याउने काममा व्यस्त हुनुपरको शेर्पाको भनाइ छ ।
यस्तै मिक्वाखोला गाउँपालिका–१ का स्थानीय विनोद लिम्बूले पनि अलैँची बगानमै दसैँ मनाएको सुनाउनुभयो । चाड पर्वकै समयमा अलैँची थन्क्याउने मौसम भएपछि खेतीमा संलग्न अधिकांस किसानले अलैँची थन्क्याउने काम गर्दै दसैँ मनाएका लिम्बूले बताउनुभयो । अब तिहारको समय पनि अधिकांस किसानको अलैँची बगानमै बित्ने बताउँछन् । घरमा बसेर चाडपर्व मनाउन थाल्दा जंगली जीवजन्तु (चरा–मुसा) ले अलैँची खाएर धेरै क्षति गर्ने किसानको भनाइ छ ।
यसरी हाल जिल्लाका अधिकांस किसान अलैँची थन्क्याउने काममा व्यस्त रहेका छन् । जिल्लाको नौ स्थानीय तहका ६१ वटा वडामध्ये फक्ताङ्लुङ गाउँपालिका–७, ओलाङ्चुङगोलाबाहेक सबैमा अलैँची खेती हुने गरेको छ । सबैभन्दा बढी अलैँची खेती हुने जिल्ला भनेर ताप्लेजुङलाई चिन्ने गरिएको छ भने यहाँ चार हजार ५०० हेक्टर बढी क्षेत्रफलमा अलैँची खेती गरिँदै आएको छ ।