विवशको उपचारका लागि नेतृ अञ्जनाको संयोजनमा उठेको १ लाख ६८ हजार बढी रकम परिवारलाई हस्तान्तरण

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,कात्तिक २ । ताप्लेजुङको फुङलिङस्थित हेलिप्याड क्षेत्रमा भएको साइकल दुर्घटनामा परी गम्भिर घाइते फुङलिङ निवासी विवश मगरको उपचार सहयोगका लागि नेतृ अञ्जना कडरिया कटुवालले १ लाख ६८ हजार बढी रकम सहयोग जुटाइ परिवारलाई हस्तान्तरण गर्नु भएको छ ।

मगरको उपचार सहयोगका लागि उहाँले सहयोग संकलन अभियान चलाउनु भएको थियो । अभियानमार्फत संकलन भएको १ लाख ६८ हजार १ सय ७० रुपैयाँ अञ्जनाले विवशका बुवा गणेश मगरलाई घरमै पुगेर हस्तान्तरण गर्नु भएको छ । उहाँले सहयोग संकलन अभियानमा साथ र सहयोग गर्नेहरुको नामावली सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक पनि गर्नु भएको छ । संकलित रकम घाइतेको उपचारमा पुगेको जानकारी पारदर्शी होस् भन्ने उद्देश्यले सहयोगीहरुको नामावली सार्वजनिक गर्नु परेको उहाँले बताउनुभयो ।

गत चैत १९ गते साइकल दुर्घटनामा परी गम्भीर घाइते हुनु भएका विवशको अहिले पनि उपचार जारी छ । साइकलबाट लडेर बेहोस हुनु भएका मगरको ताप्लेजुङ अस्पतालमा प्राथमिक उपचारपछि झापाको बिर्तासिटी अस्पतालमा टाउको,घाँटी,नाक र गालाको शल्यकृया गर्नु परेको थियो । उपचार अहिले पनि जारी रहेको विवशका बुवा गणेश मगरले जानकारी दिनुभयो । अहिलेससम्म झण्डै १५ लाख रुपैयाँ खर्च भइसकेको उहाँले बताउनुभयो ।

पहिला राखिएको स्टिल खोल्नुपर्ने र थप शल्यकृया गर्नुपर्ने भएकाले विवशलाई उपचारका लागि फेरि अस्पतालतर्फ लगिएको छ । विवशको उपचार सहयोग संकलनका लागि उहाँका परिवारले समेत सहयोग संकलन अभियान चलाइरहनु भएको छ । अञ्जनाले यसअघि सिदिङवा गाउँपालिका वडा नं ६ मेहेलेमा घाँस काट्ने क्रममा लडेर घाइते तिर्सना राईको उपचार सहयोगका लागि १९ हजार ५ सय रुपैयाँ सहयोग समेत जुटाउनु भएको थियो । अञ्जना नेपाली काँग्रेस फुङलिङ नगरपालिका वडा नं ४ को वडा सचिव तथा महिला संघको जिल्ला नेतृत्वमा रहनु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts