२०८० सालको एसईईमा लिटलबुद्धकी सिक्कुम जिल्ला प्रथम,मेचीका तीन जिल्लामा प्रथम भएको बिद्यालयको दावी

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ,असार १७ । २०८० सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा ताप्लेजुङको फुङलिङ नगरपालिका वडा नं ४ स्थित लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुलकी सिक्कुम लिम्बू जिल्ला प्रथम हुनु भएको छ । उहाँले प्राप्त गरेको ३.९१ जिपिए जिल्लाभरीकै परीक्षार्थीमध्ये उच्च रहेको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ ।

इकाई प्रमुख योगेश्वर भट्टराईले सिक्कुमले प्राप्त गरेको जिपीए समान वा बढी जिपीए यसबर्षको परीक्षा लेख्ने जिल्लाका कुनैपनि परीक्षार्थीले प्राप्त नगरेको जानकारी दिनुभयो । लिटलबुद्ध ईङलिस बोर्डिङ स्कुलले भने सिक्कुमले प्राप्त गरेको जिपीए मेचीका चारमध्ये झापा बाहेक इलाम,पाँचथर र ताप्लेजुङमै पहिलो रहेको दावी गरेको छ । प्रिन्सिपल युवराज गिरीले सिक्कुमको नतिजा ताप्लेजुङ,पाँचथर र इलामकै अब्बल रहेको दावी गर्नु भएको छ ।

शिक्षा विकास तथा समन्वय ईकाईका अनुसार यसबर्षको एसईई परीक्षामा ३.६ देखि ४ जिपीए सम्म ल्याउने १२ जना छन् । त्यसमध्ये १० जना साधारणतर्फ र २ जना प्राविधिकधारतर्फका रहेका छन् । ३.२ देखि ३.५९ सम्म जिपीए ल्याउनेमा साधारणतर्फका ३६ र प्राविधिकधारतर्फका २५ गरी कूल ६१ जना छन् । यस्तै २.८ देखि ३.१९ सम्म जिपीए ल्याउने परीक्षार्थी १ सय १२ जना छन् । त्यसमा साधारणतर्फका ८७ र प्राविधिकधारतर्फका २५ जना छन् । यस्तै २.४ देखि २.७९ सम्म जिपीए ल्याउने १ सय ११ जनामध्ये ९७ जना साधारणतर्फका र १४ जना प्राविधिकधारतर्फका रहेका छन् । २ देखि २.७९ जिपीए ल्याउने भने ८ जना रहेकोमा ७ जना साधारणतर्फका र १ जना प्राविधिकधारतर्फका रहेका छन् ।

नन् ग्रेडेड अर्थात् एनजीमा भने साधारणतर्फका १ हजार ४ सय ५९ र प्राविधिकधारतर्फका ५९ गरी कूल १ हजार ५ सय १८ जना रहेको शिक्षा विकास तथा समन्वय इकाई ताप्लेजुङले जनाएको छ । २०८० सालको माध्यमिक शिक्षा परीक्षामा ताप्लेजुङबाट साधारण नियमिततर्फ १ हजार ६ सय ९६ जना तथा प्राविधिकधारतर्फ १ सय २६ जना गरी कूल १ हजार ८ सय २२ जना परीक्षार्थी सहभागी भएका थिए । ताप्लेजुङका २३ वटा बिद्यालयका बिद्यार्थीले नन्ग्रेडेड(एनजी)नतिजा ल्याएका छन् ।

 

अरुलाई पनि शेयर गरौ !

Similar Posts