एमाले फुङ्लिङ नगरमा लावतीको प्यानल विजयी

-उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ २६ । नेकपा (एमाले) फुङ्लिङ नगर कमिटीमा ज्ञानेन्द्र लावतीको प्यानल विजयी भएको छ । ताप्लेजुङको एकमात्र फुङ्लिङ नगरपालिकामा एमाले नगर कमिटीको चौथो अधिवेशनबाट लावतीको प्यानल विजयी भएको हो ।
शुक्रबार राति अबेर सम्पन्न नगर अधिवेशनबाट गमबहादुर फुरुम्बो लिम्बूको प्यानललाई पराजित गर्दै लावतीको प्यानल विजयी भएको हो । नगर अभिवेशन निर्वाचन समितिका अनुसार एमाले नगर कमिटी चयनका लागि कुल १३६ मत खसेको थियो । उक्त मत सङ्ख्यामध्ये ८८ मत प्राप्त गरी अध्यक्ष पदमा लावती निर्वाचित हुनुभएको हो ।
अध्यक्षका अर्का प्रत्यासी फुरुम्बोले ४१ मत पाउनुभएको थियो । यस्तै उपाध्यक्षमा ८० मत प्राप्त गरी दुर्गाप्रसाद गुरुङ निर्वाचित हुनुभयो भने पराजित उपाध्यक्षका प्रत्यासी अशोक थेबेले ४६ मत मात्र पाउनुभएको छ । सचिवमा ८७ मत ल्याएर सन्तोष भट्टराई निर्वाचित हुँदा अर्का प्रत्यासी लिलानाथ पौडेलले ४० मत पाउनुभएको छ ।
यसैगरी उपसचिव द्वयमा रुपक घिमिरे र शोभा बराल निर्वाचित हुनुभएको छ । नगर कमिटी पदाधिकारी सबै र अधिकांस सदस्य पनि लावती प्यानलका निर्वाचित हुनुभएको बताइएको छ । यता निर्वाचित नगर कमिटी गएको बैशाख अन्तिम साता सम्पन्न एमाले ताप्लेजुङको १२ औं जिल्ला अधिवेशनमा अध्यक्ष पदमा पराजित बलबहादुर साम्सोहाङ पक्षको प्यानल हो ।
जिल्ला अध्यक्ष डम्बरध्वोज तुम्बाहाम्फे पक्षको प्यानल नगर कमिटीमा पराजित भएको बताइएको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये अधिकांस पालिका कमिटी चयनका लागि अधिवेशनहरु सम्पन्न भएका एमाले ताप्लेजुङले जनाएको छ । कमिटी चयनका लागि सर्वसम्मत नभएका पालिकामा निर्वाचनको प्रक्रियामार्फत कमिटी चयन गरिँदै आएको जिल्ला कमिटी सचिव सन्तोष चाम्लिङ राईले जानकारी दिनुभयो ।